रामेछाप मन्थलीको सालुमा दिउँसै चोरी गर्ने भारतीय नागरिकसहित तीन जना कारागार चलान

| भदौ २८, २०८१ शुक्रबार

फोटो स्रोत, जिल्ला प्रहरी रामेछाप
A A A
A A A

२८ भदौ, रामेछाप । गएको साउन ३१ गते दिउँसै मन्थली नगरपालिका वडा नं ४ सालुको सामलस्थानका सोमबहादुर खत्रीको घरबाट ओपो कम्पनीका मोबाइल तथा नगद रकमसमेत चोरी गर्ने एक भारतीय पुरुषसहित तीन जनालाई कारागार चलान गरिएको छ । 

 

बिहीबार जिल्ला अदालत रामेछापले यहाँका स्थानीयहरूको मोबाइल र नगद चोरीमा संलग्नहरूलाई दोषी ठहर गर्दै भारतको बिहार दोस्तिया थाना वडा नं ७ बस्ने ३२ वर्षीय तपेश्वर महतोलाई कारागार चलान गरेको रामेछाप प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । 

 

उनका अनुसार सोही घटनामा संलग्न सर्लाहीको ब्रम्हापुरी नगरपालिका वडा नं ६ का ४० वर्षीय कुसुम कुमारी र सोही ठाउँकी १९ वर्षीय सुनिता कुमारीलाई पनि कारागार चलान गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरकै विभिन्न क्षेत्रमा चोरी गरेर यहाँका स्थानीयहरूलाई त्रसित बनाएकाहरूलाई चेकजाँचमा समेत कडाइ गर्दै उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । साथै, पछिल्लो समय रामेछाप प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाई समेत चुस्त पार्न लागि परेको बताउँदै आएको छ ।