खाँडादेवी गाउँपालिका : विपद्ले क्षति गरेको भन्दै ९१ वटा निवेदन पेस, २६० थान जाली र जस्ता दिने निर्णय

४ असोज, रामेछाप । बिहीबार बसेको खाँडादेवी गाउँपालिकाको विपद् व्यवस्थापन समिति र कार्यपालिका बैठकले पालिकामा यसपालिको बाढी, पहिरोसहितको विपद्ले निम्त्याएको क्षतिलाई रोकथाम र राहत वितरण गर्न निर्णय गरेको छ ।
पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले दिएको जानकारी अनुसार हाल सम्म यो पटकको विपद्ले क्षति पुर्याएको भन्दै ९१ वटा निवेदन राहत प्राप्त गर्नु पर्ने दाबीसहित पेस भएका छन् ।
९ वटा वडा रहेको यो गाउँपालिकामा बिहीबार कै कार्यपालिका बैठकले व्यक्तिको घर वा अन्य सम्पत्तिमा भएको नोक्सानीलाई पुनः क्षति नहोस् भन्ने उद्देश्यले संरक्षण गर्नको लागि २५ प्रतिशत भुक्तानी पालिकाको विपद् कोषबाट गरी गर्ने जाली उपलब्ध गराउने भएको छ ।
त्यस्तै दशै अगाडि पालिकाका सडकहरू सफा गर्ने वडा नं २ मझुवाको दलित बस्ती मुनिको पहिरो गएको ठाउँमा पुनः निर्माण गर्ने, च्यासिन्टार सडक मर्मत लाई ३६ पिस जाली उपलब्ध गराउने निर्णय गरेको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
त्यस्तै तिमुको दलित बस्ती खोक र ४ नम्बरको ६ घर लाई ४–४ बन्डल जस्ता, भारती मावि लाई ५० थानसहित २६० थान जाली वितरण गर्ने निर्णय अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनका अनुसार १० भन्दा बढी ठुलो नोक्सान भएका संघ तथा प्रदेशमा सिफारिस गरेको छ । यो पालिकामा जिल्लाको दोरम्बा शैलुङ, लिखु तामाकोशी गाउँपालिकाको जस्तो ठूलो बाढी पहिरोको क्षति भने भएको छैन ।
यद्दयपी बाढीले भने यो पालिकाको केही धानखेतमा क्षति गरेको छ ।