जिल्ला विपद् व्यवस्थापन समितिको बैठक : बाढी पहिरो प्रभावित सबै पालिकालाई ५०–५० लाख पठाउने निर्णय

| कात्तिक १३, २०८१ मंगलबार

A A A
A A A

१३ कात्तिक, रामेछाप । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले आठ वटै स्थानीय तहलाई प्राप्त रकम पठाएको छ । गएको असोज १० देखि १२ गते सम्म आएको भीषण बाढी पहिरोबाट पूर्ण रूपमा क्षेत्रग्रस्त बनेका स्थानीय तहहरूलाई विपद् व्यवस्थापन समितिलाई प्राप्त रकम ५०–५० लाख रुपैयाँ पठाउने निर्णय गरेको हो । 

 

सोमबार जिल्ला प्रशासनमा बसेको समितिको बैठकले निकासा भएको रकमबाट तोकिएको कार्य क्षेत्र र स्थानहरूमा मितव्ययी, पारदर्शी, छिटोछरितो रूपमा स्पष्ट नतिजा निकाल्ने गरी प्रभावकारी रूपमा स्थानीय तहहरूले कार्यान्वयन गर्न समेत निर्देशन गरेको छ । 

 

साथै, पहिरोमा परि एक जनाको ज्यान समेत गएको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका गणेशबहादुर मगरलाई २ लाख प्रदान गरिएको छ । यहाँका सबै स्थानीय तहहरूलाई अविरल वर्षाको कारण बाढिपहिरोले बसोबास गरिरहेको घर पूर्ण रूपमा नष्ट गुमाएका तथा मनसुनजन्य विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण मापदण्ड–२०८१ बमोजिम तुरुन्त अस्थायी आवास निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।