जिल्लाको नाम देशभर ‘चम्काउन’ सफल पत्रकार र ‘नृत्यकार’लाई रामेछाप नगरपालिकाले गर्यो सम्मान
३० कात्तिक, रामेछाप । गएको शनिवार देशभरि कै ‘उत्कृष्ट जिल्ला शाखा’ घोषित हुँदै पुरस्कृत भएको राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछापलाई रामेछाप नगरपालिकाले सम्मान गरेको छ ।
शुक्रवार (आज) नगरले आयोजना गरेको गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति र चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले सम्मान पत्रसहित (एनएफपिजे) जिल्ला शाखा रामेछापलाई सम्मान गरेको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको केन्द्रीय साधारण सभा तथा अधिवेशनको अवसरमा गएको शनिवार समूहको केन्द्रीय समितिले जिल्ला शाखा रामेछापलाई देशभर कै उत्कृष्ट शाखा घोषित गर्दै सम्मानित गरेको थियो । सो, कार्यबाट जिल्लाको नाम देशभरि नै राख्न सफल भएकोमा बधाई दिँदै नगरपालिकाले (एनएफपिजे) रामेछापलाई नगरसहित जिल्लाकै ‘नाम उच्चो गरेको’ भन्दै प्रशंसापत्रद्वार सम्मान गरेको संस्थाका सचिव राजन महतारा क्षेत्रीले बताए ।
भव्य कार्यक्रमका बिच समूहका जिल्ला अध्यक्ष मिलन बि.क (घिमिरे) लाई नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेसहितको उपस्थितिमा नगरका प्रमुख लवश्री न्यौपानेले, उप–प्रमुख बालाकुमारी कार्की (थापा), कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की), भर्खरै नगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका भोला प्रसाद चापागाईँ, नगर प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष समीर कार्कीसहित ९ वटै वडाका अध्यक्षहरूको उपस्थितिमा दौशल्ला र सम्मान पत्र प्रदान गरे ।
२०८० सालमा जिल्लामा समूहको शाखा गठन भएयता संस्थाको हित अनुसार विभिन्न गतिविधि गर्दै आएको (एनएफपिजे) रामेछापका अध्यक्ष घिमिरेले सम्मान ग्रहण गर्दै यो सम्मान पाएर संस्थालाई थप हौसला र ऊर्जा थपिएको धारणा राखे । साथै, आगामी दिनमा सबैसँग सहकार्य गर्दै संस्थालाई थप चलायमान बनाउने प्रतिबद्धता दोहोर्याए ।
नगरपालिकाले (एनएफपिजे) रामेछापसहित नृत्यको माध्यमबाट नगर र जिल्लाकै नाम देशभर राख्न सफल भएको भन्दै नगरपालिकाको वडा नं १ गोठगाउँ निवासी चन्द्रवाती कार्कीलाई पनि नगद २० हजारसहित सम्मान गरेको छ ।
किशोरी कार्कीले मखमली फाउण्डेशनले आयोजना गरेको राष्ट्र व्यापी नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् । नगरपालिकाले पहिलो पटक सम्पूर्ण प्रक्रिया सहित सबै शाखाहरूको गत वर्षको प्रगति समीक्षा गरेको थियो ।