आइतबार मन्थली नगरपालिकाको स्थापना दिवसः सबै सेवा बन्द
१४ मंसिर, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका आइतबार बन्द हुने भएको छ । सो दिन नगरको स्थापना दिवस परेकाले नगर अन्तर्गतका सबै कार्यालयहरू बन्द गरी दिवस मनाउने नगरपालिकाले जनाएको हो ।
शुक्रवार एक सूचना जारी गर्दै नगरपालिकाको १० औँ स्थापना दिवस मनाउने भएकाले आइतबार नगरको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले जारी गरेको पत्रमा ‘नगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा सार्वजनिक समारोह सहितको विशेष कार्यक्रमको आयोजना गरिएकोले उक्त दिन नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने’ भनिएको छ ।