पत्रकार महासंघ रामेछापको निर्वाचनमा प्रेस संगठनहरुको ‘संयुक्त गठबन्धन’, अध्यक्ष बाहेकका सबै निर्विरोध निर्वाचित, भोलि मतदान

| मंसिर २७, २०८१ बिहिबार

अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गरेकाहरु ।
A A A
A A A

२७ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको भोलि शुक्रवार हुने निर्वाचनमा अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा भने एक स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी पारेको छ । 

 

अध्यक्षमा नेपाल प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष समेत रहेका अप्रिल अधिकारीले युनियनबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्वरको रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अन्य तीन जना भने युनियनकै सदस्य रहेका दीपक कुमार घिमिरे, दीपक भट्ट र नवीन केसीले अध्यक्ष पदको लागि उम्मेद्वरी दर्ता गराएका हुन् । 

 

महासंघको निर्वाचन समितिका अनुसार बिहीबार आज अप्रान्ह्व सम्म उम्मेद्वरी फिर्ता लिन सकिने समय तोकिएको छ । चारै जना उम्मेद्वारहरुले आफूहरू उम्मेद्वरी फिर्ता नलिने अडान राख्दै आएका छन् । यद्दयपी बिहीबार प्रेस युनियन र उसका नेताहरूले उम्मेदवारी दिएकाहरूसँग छलफल गर्ने योजना रहेको युनियन जिल्ला शाखाकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् । 

 

युनियनले सम्भव भएसम्म सबै उम्मेद्वरहरुसंग छलफल गरेर सांगाठानिक रूपमा एउटै उम्मेद्वरलाई निश्चित गर्ने योजना रहेको उनको भनाई छ । 

महासंघको जिल्ला शाखाको निर्वाचनमा पनि यो पटक केन्द्रीय रणनीति अनुसार नेपाली काँग्रेसको शुभेच्छुक प्रेस युनियन र एमाले निकट प्रेस चौतारी नेपालबिच भएको गठबन्धनलाई नै कायम गरिएको संगठनहरुले बताएका छन् । साथै, रामेछापमा दुई ठुला प्रेससंगठनहरुले अन्य प्रेस संगठनहरुलाई समेत सँगै लिएर जाने भन्दै नेकपा माओवादी केन्द्र निकट ६ सदस्यीय प्रेस सेन्टर र १ सदस्यीय समाजवादी प्रेसलाई समेत गठबन्धनमा सम्मेलित गरेका छन्  । 

 

योसँगै महासंघ रामेछापको निर्वाचनमा सबै प्रेस संगठनहरुको संयुक्त ‘गठबन्धन’ भएको छ । ‘गठबन्धन’मा युनियनले १ अध्यक्षसहित कोषाध्यक्ष, २–सह–सचिव र चार खुल्ला सदस्य लिएको छ । 

 

जिल्ला शाखामा अन्य संगठन भन्दा निकै बलियो युनियनको भागमा परेको महासंघमा अध्यक्ष बाहेक कोषाध्यक्षमा युवराज श्रेष्ठ, सह–सचिवमा कुमार श्रेष्ठ र रामचन्द्र बि क र सदस्यमा कुमार श्रेष्ठ (आदिवासी जनजाति), मिलन बि क, राजन महतारा र निरु थापा निर्विरोध निर्वाचित भएका छन् । 

 

त्यस्तै प्रेस चौतारी नेपालले एक खुल्ला उपाध्यक्षसहित सचिव र चार सदस्य पाएको छ । जसमा प्रेस चौतारीबाट उपाध्यक्षमा युनिक बिफा घिसिङ, सचिवमा नवराज श्रेष्ठसँगै सदस्यमा लेखबहादुर बि क, शर्मिला बिशुन्खे, शंकर बरुवाल र नवराज बि क निर्वाचित भएको निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

 

एक महिला उपाध्यक्ष र एक सदस्य पाएको प्रेस सेन्टरबाट तुलसी देवी श्रेष्ठ उपाध्यक्ष र सदस्यमा निरोज श्रेष्ठ निर्वाचित भएका छन् ।

 

त्यस्तै युनियनको तर्फबाट केन्द्रीय पार्षद्मा बद्री नयाँघरे र ज्ञानु श्रेष्ठले, प्रदेश पार्षद्मा प्रेस सेन्टरबाट सम्वरबहादुर हायु (प्रशान्त), युनियनबाट कल्याण बुढाथोकी र प्रेस चौतारीको तर्फबाट शान्ता श्रेष्ठ निर्वाचित भएका छन् । ती सबै पदमा १–१ जनाको मात्रै उम्मेद्वरी परेको हो ।

 

शुक्रवार देशव्यापी रूपमा तीनै तहको एकै पटक निर्वाचन हुँदै छ । जसमा रामेछापबाट ४८ जना सदस्यले जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई मतदान गर्दै छन् ।