पत्रकार महासंघ रामेछापको निर्वाचनमा ९६ प्रतिशत मत खस्यो, मत गणना जारी
२८ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा करिब ९६ प्रतिशत मत खसेको छ । आज सम्पन्न निर्वाचनमा कूल ४८ मत मध्ये ४६ मत अर्थात् ९५.४८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको हो । जिल्ला शाखामा प्रेस संगठनहरुले भागबन्डा गरेका छन् ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाको आफ्नै भवनमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदानमा मत हाल्न पाउने प्रेस चौतारी नेपालका सदस्य निरोज थापा र विष्णु खड्का बाहेक सबैले मतदान गरेका हन् ।
जिल्ला शाखाको अध्यक्ष पदको लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र समाजवादी प्रेसको साझा उम्मेदवारको रूपमा प्रेस युनियनका दीपक कुमार घिमिरेले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, प्रेस युनियन जिल्ला शाखाकै सदस्य रहेका दीपक भट्ट र नवीन केसीले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् । भने, युनियनका पूर्व अध्यक्ष समेत रहेका अप्रिल अधिकारीले भने स्वतन्त्रबाट अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन् । जिल्ला शाखामा अन्य पदमा भने चारै प्रेस संगठनका सदस्यहरू निर्विरोध निर्वाचित भई सकेका छन् ।
बिहान १० बजेदेखि नै निर्वाचनको लागि तयार भए पनि दिउँसो १ बजेदेखि मत खसालिएकोमा साँझ ५ बजे सकिएको थियो ।
त्यस लगत्तै बसेको उम्मेद्वारहरुसहितको सर्वदलीय बैठकपछि केन्द्रीय समितिबाट अहिले मत गणना भई रहेको छ । केन्द्र सकेर प्रदेशको मत गनिने र त्यसपछि मात्रै जिल्ला शाखाको मत गणना हुने सहमति गरिएको छ ।
जिल्ला शाखा कै सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका नवराज पथिक बागमती प्रदेशको भूगोल तर्फबाट केन्द्रीय समितिको सदस्यको उम्मेद्वार रहेका छन् । भने, प्रदेश समितिमा पनि चौतारीकै सदस्य प्रज्वल पौडेल खुल्ला सदस्यमा प्रतिस्पर्धा गर्दै छन् ।
हाल पत्रकार महासंघ रामेछापको अध्यक्ष बद्री नयाँघरे रहेका छन् ।