पत्रकार महासंघ रामेछापको अध्यक्षमा घिमिरे भारी मतसहित निर्वाचित, आज जिम्मेवारी हस्तान्तरण
२९ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा दीपक कुमार घिमिरे निर्वाचित भएका छन् । अन्य तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै प्रेस ‘सङ्गठनहरूका साझा उम्मेदवार’ घिमिरे भारी मतले विजय भएका हुन् ।
अन्य प्रेस युनियनै सदस्य दीपक भट्ट, नवीन केसी र स्वतन्त्र उम्मेद्वार अप्रिल अधिकारीले ३–३ मत गरेका छन् । भने, युनियनको तर्फबाट उम्मेद्वार बनेका घिमिरेले ३७ मत ल्याएर निर्वाचित भएका हुन् ।
शुक्रवार राति सकिएको मत गणनामा घिमिरे निर्वाचित भएका हुन् । रामेछापमा अध्यक्ष बाहेक सबै पदमा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेसका सदस्यहरू निर्विरोध निर्वाचित यस अगाडि नै भएका छन् ।
४८ मत रहेको रामेछापमा दुई जनाले मत दिएनन् । लामो समयदेखि रेडियो सञ्चालन गर्दै मिडिया क्षेत्रमा सक्रिय घिमिरे केन्द्रको यलाइन्स् सहित जिल्लामा सबै पत्रकार सङ्गठनहरू बिच भएको सहमति र एकताको बिच निर्वाचित भएका हुन् ।
रामेछापको रामेछाप नगरपालिका वडा नं ८ घर भएका घिमिरेको परिवार नै पत्रकारिता क्षेत्रमा आबद्ध छन् । उनकी श्रीमती रिता कुमारी मगर समेत यस अगाडि महासङ्घमा उपाध्यक्ष बनिसकेकी छिन् । साथै, प्रेस युनियनको केन्द्रीय सदस्य समेत हुन् ।
अध्यक्ष बनेका घिमिरे देशका विभिन्न जिल्लामा रेडियोको प्राविधिकसहितको कार्यमा सहयोग गर्दै डिजिटल मिडियालाई प्रयोग गर्नु पर्ने आवाज बोल्दै आएका छन् । निर्वाचित भएपछि सबैसँग मिलेर जिम्मेवारी पुरा गर्ने उनले प्रतिबद्धता जनाए ।
त्यस्तै रामेछापकै सक्रिय पत्रकार नवराज पथिक बागमती प्रदेशको भूगोल तर्फबाट केन्द्रीय सदस्यमा ३६८ मत सहित निर्वाचित भएका छन् । उनी प्रेस चौतारीको केन्द्रीय सदस्य समेत हुन् । उनलाई रामेछापबाट ४६ मत खसेकोमा ४१ मत प्राप्त भएको छ ।
त्यस्तै प्रदेशको खुल्ला सदस्यको उम्मेद्वार रहेका प्रेस चौतारीका प्रज्वल पौडेलको पनि जित शुनिश्चित भएको छ । प्रदेशको मकवानपुर शाखाको मत गणना जारी रहेकाले थप विवरण आउन बाँकी छ ।
शुक्रवार बिहान देखि भएको रामेछाप शाखाको निर्वाचन पत्रकार महासंघको आफ्नै भवनमा शान्ति पूर्ण रूपमा सम्पन्न भएको थियो । निर्वाचित अध्यक्षसहितको पदाधिकारीहरूलाई शनिवार (आज) बिहान ११ बजे महासंघको हलमा पदभार हस्तान्तरण तथा शपथ खुवाउने कार्यक्रम तय गरिएको महासंघको काम चलाऊ समितिका अध्यक्ष बद्री नयाँघरेले बताए ।