अम्बर आदर्श साकोषले एक वर्षमा कमायो १५ लाख बढी नाफा, ‘मर्ज’ गर्न पहल थाल्ने !

| पुस २०, २०८१ शनिबार

A A A
A A A

२० पुस, रामेछाप । मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक वर्षमा १५ लाख बढी नाफा कमाएको छ । पछिल्लो समय ‘लय’ समाउँदै गएको यो सहकारीले आगामी वर्ष एक सय जना सदस्य थप गर्ने योजना अगाडि सारेको सहकारीले जनाएको छ । 

 

शनिवार रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलसहितको उपस्थितिमा गरिएको २३ औँ वार्षिक साधारण सभामा कोषाध्यक्ष रमेश ढुङ्गेलले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा हाल १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाएको उल्लेख गरिएको छ । 

 

२०५८ जेठ १६ गते २५ जनाबाट सुरु भएको यो सहकारीले २०८१ सम्म आइपुग्दा ११ सय सदस्यसहित सो नाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको हो । 

 

आगामी दिनमा सहकारीको नियामक निकाय (नेफ्स्कुन) सहित जिल्लाका स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दे आफ्ना गतिविधि अगाडि बढाउने योजना रहेको सुनाउँदै सहकारीका सचिव कुमार खत्रीले ‘उस्तै प्रकृतिका सहकारीसँग समन्वय गरी मर्जको प्रक्रिया अगाडि बढाउने’ योजना रहेको बताएका छन् । 

 

आगामी दिनमा सहकारीको कार्य क्षेत्र विस्तार गर्दै संचालनमा रहेको ‘सुत्केरी महिलासँग अम्बर आदर्श’ कार्यक्रमलाई नीति र नियमसँग रूपमा कार्यान्वयन गरिने सचिवको प्रतिवेदनमा उल्लेख छ । यो सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा कूल ३१ लाख ५८ हजार ५ सय आम्दानी हुने अनुमान गरेकोमा ३७ लाख ८० हजार गरेको छ । 

 

२ करोड ९६ लाख ६१ हजार ९१९ रुपैयाँको कारोबार गरेको अम्बर आदर्शले १५ लाख २१ हजार ६८ सय ४५ रुपैयाँ खुद् नाफा आर्जन गरेको छ । 

 

साधारण सभाको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलले सहकारी राम्रो बनाउन र बिगार्न  सदस्यहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । ‘हामी वर्षमा एक दिने हामीले चलाउन पाउने दिन पनि समय दिन सक्दौं । त्यो दिन पनि समय दिन सक्दैनौँ भने त्यो सदस्यलाई सहकारीको सदस्य हुने छुट् पनि छैन’ सहकारी सञ्चालक समितिले मात्रै नबिगार्ने भन्दै सदस्यहरूले पनि जिम्मेवार भूमिका हुने जिकिर गरे । 

 

केही दिन अगाडि सरकारले ल्याएको ‘अध्यादेश’ कार्यान्वयनमा जानू पर्ने अवस्था रहेको धारणा राख्दै अध्यक्ष ढुङ्गेलले राम्रा सहकारीको चर्चा भन्दा नराम्रा सहकारी संस्थाको बदनाम धेरै भइरहेको भन्दै गुनासो गरे । ‘यति बेला सहकारीको अध्यादेशले निकै पेचिलो बनेको छ ।’

 

सहकारीबाट खाएको ऋण तिर्न नपर्ने हो कि भन्ने आशामा बसेकाहरूले त्यसबाट मुक्त हुनु पर्ने उनको भनाई छ । जिल्लाका दुई चार वटा सहकारीको ऋण फिर्तामा समस्या रहेको भन्दै अध्यक्ष ढुङ्गेलले सबैले ऋण असुलीमा जोड् दिन आग्रह गरे । 

 

(नेफ्स्कुन) रामेछापका प्रतिनिधि सूर्य थापाले पनि सहकारीहरू उद्देश्य अनुसार चल्न नसक्ने हो भने चाँडै कानुनी बाटोमा जान सक्ने चेतावनी दिए । ‘सहकारीहरू सहकारी जसरी चलेमा केही गर्न पर्दैन ।’