मन्थली स्थित ‘तीनलाल पार्क’को अस्तित्व संकटमा पारिएको भन्दै गुनासो, सच्याउने नगरको प्रतिबद्धता
१ माघ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको वडा नं १ स्थित ‘तीनलाल पार्क’ को अस्तित्व संकटमा परेको भन्दै आवाज उठेको छ । पछिल्लो समय मन्थली नगरपालिकाले नगर गौरवको आयोजनाका रूपमा निर्माण गरेको स्विमिङ पुलसहितको सुविधा सम्पन्न भवनबाट ‘रिसोर्ट’ मन्थली पार्क इन प्राइभेट लिमिटेडको नामबाट संचालन भएपछि तीनलाल पार्कको अस्तित्व संकटमा परेको भन्दै गुनासो उठेको हो ।
नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्मिएको जिल्ला रामेछापको मन्थली नगरपालिका–१ गढवारिमा तीनै जनाको अर्धकदको सालिकसहितको पार्क विगतमै निर्माण गरेर तीनलाल पार्कको रूपमा चिनिएको सो ठाउँलाई नगरले निर्माण गरेको संरचना ठेक्कामा लिएर सेवा दिइरहेको मन्थली पार्क इन्नले नामै परिवर्तन गरी ‘मन्थली पार्क इन्’ को प्रचार गर्न थालेपछि स्थानीयहरूले गुनासो गरेका हुन् ।
तीनलाल पार्क जिल्लाकै कम्युनिष्ट र महान् व्यक्तिरहरुको नामबाट चिनिए पछि व्यापार व्यवसायको नाममा अस्तित्व मेट्न लाग्न गलत भएको भन्दै नगरपालिकाको पत्रकार सम्मेलनमा नगरको ध्यानाकर्षण गरेपछि नगरपालिकाले गुनासो समाधान गरिने प्रतिबद्धता समेत जनाएको हो ।
जिल्लाको ऐतिहासिक, गौरव बोकेको तीनलाल पार्कलाई व्यवसायीले मनलाग्दी नाम नै परिवर्तन गरी सञ्चालन गर्दा पनि मन्थली नगरपालिका लगायत जिल्लाका सरोकारवाला निकायको ध्यान नगएको भन्दै गुनासो आउन थालेको छ ।
यसबारेमा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत र प्रवक्ता गोपाल श्रेष्ठले सम्झौता हेरेर नगरपालिकाले कदम चाल्ने बचन दिएका हुन् । ‘हामी सम्बन्धित निकायलाई बोलाएर यस बारेमा बुझ्छौँ ।’
सोमबार नगरको हलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुनासो बारेमा बोल्दै नगर प्रवक्ता श्रेष्ठले भने ‘तीनलाल पर्यटकीय पार्कलाई मन्थली पार्क इन प्राइभेट लिमिटेड बनाइएको बारे नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
उपप्रमुख ईश्वरी बस्नेतले पनि मन्थली नगरपालिका सहित जिल्लाको ऐतिहासिक ठाउँको नाम नै परिवर्तन गर्ने जस्ता काम गर्न नपाइने बताउँदै पार्क ठेक्कामा लगाउँदा भएको सम्झौता हेरेर नगरपालिकाले सही निर्णय गर्न लाग्ने बचन व्यक्त गरिन् ।
मन्थली नगरपालिका र सङ्घीय सरकारको ६ करोड ८६ लाख २१ हजार रुपैयाँ संयुक्त लगानीमा २०८० असारमा यो पार्क निर्माण सम्पन्न भएको हो । कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन ४०८ जना क्षमताको सभा हल, महिला, पुरुष बच्चा सहितको ७५ देखि १०० जना क्षमताको तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्ष रहेका छन् । त्यस्तै यो पार्कमा चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा पनि रहेको छ ।