मन्थलीमा सुरु भयो ‘तेस्रो नगर कप’, कूल २१ टिमको प्रतिस्पर्धा

| फागुन ३, २०८१ शनिबार

A A A
A A A

३ फागुन, रामेछाप । मन्थली नगरपालिकाको तेस्रो मन्थली नगर कप र प्रथम महिला भलिबल कप–२०८१ आजदेखि सुरु भएको छ। खेलमा महिला र पुरुष गरी २१ टिमको सहभागिता रहेको छ । 

 

शनिवार जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले नगर प्रमुख लव श्रेष्ठसहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्तासहितको भव्य समारोहका बिच ५ दिन सम्म चल्ने नगर कप उद्घाटन गरेका हुन् । पहिलो पटक महिलाहरूको पनि भलिबल खेल समावेश गरिएको सो कपमा पुरुष तर्फ पहिलो हुनेले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिए । 

 

त्यस्तै, उपविजेता हुने पुरुष टिमले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष माझीले बताए ।  

 

महिलातर्फ प्रथम हुने टिमलाई नगद ५० हजार ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने छ । महिला तर्फ पहिलो पटक खेल खेलाउन लागिएकाले रनिङ शिल्ड भने नराखिएको आयोजक भनाई छ । यो वर्ष १,२,३,६,७, ८ र १३ नम्बर वडाका महिला टिम खेलमा प्रतिस्पर्धा गर्दै छन् । 

महिला तर्फ दोस्रो हुनेले नगद ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । 

 

नगरपालिकाले कूल १९ लाख लागत लाग्ने अनुमान गरेको तेस्रो नगर कपमा भाग लिने वडाहरूलाई ५०–५० हजारको दरले दिइएको नगर खेलकुद विकास समितिले जनाएको छ । अघिल्लो जनप्रतिनिधिहरूको कार्यकालमा ‘मेयर कप’ नामबाट सञ्चालन गरिँदै आएको ‘नगर कप’ लव श्रेष्ठ नेतृत्वमा आएदेखि नगरको समग्र पहिचान गराउने भन्दै ‘नगर कप’ नाम दिएर सञ्चालन हुँदै आएको छ । 

 

यो भन्दा अघिल्लो अर्थात् दोस्रो नगर कप वडा नं ७ भटौलीले जितेको थियो । भने, प्रथम नगर कपको उपाधि मन्थली–१ ले जितेको थियो ।

 

खेलकुदका गतिविधिलाई चलायमान गराउने र खेल प्रति युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिँदै आएको नगर कपमा उत्कृष्ट विधामा नगद ५ हजार र २ हजारसहित पुरस्कृत गर्ने देवेन्द्र श्रेष्ठले बताए । 

 

शनिवार बिहानै देखि सुरु गरिएको नगर कप अन्तर्गत पुरुष भलिबलका खेलहरू जारी रहेका छन् ।