आगो लगाउनेलाई रामेछाप प्रहरीले धमाधम पक्राउ गर्दै: देउराली सिरुवारी पाखामा आगो लगाउँदै गरेका ७२ वर्षीय वृद्ध प्रहरीको नियन्त्रणमा

६ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आगो एवं डढेलो लगाउनेलाई धमाधम पक्राउ गर्न थालेको छ । चैतको पहिलो दिन देखि नै जिल्लाका विभिन्न ठाउँमा डढेलो लाग्ने क्रम बढी रहँदा त्यसमा संलग्नहरुलाई समेत प्रहरीले ‘सूक्ष्म अनुसन्धान’ बाट नियन्त्रणमा लिन थालेको हो ।
गत शनिवार दोरम्बा शैलुङ् गाउँपालिका–३ को जंगलमा आगो लगाउने दाजुभाइलाई पक्राउ गरी घटनाको सत्य तथ्य पत्ता लगाएको प्रहरीले सोमबार साँझको ६ बजे रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुवारी भिर पाखामा आगो लगाई रहेकै अवस्थामा सोही ठाउँका ७२ वर्षीय हरिबहादुर मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सोही दिन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वृद्ध मगरलाई डिभिजन वन कार्यालय रामेछापमा पठाइएर सो कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बसपार्क नजिकैको पाखो सहित विभिन्न ठाउँमा मानिसहरूले डढेलो लगाएको पाइएको छ । अहिले धेरै ठाउँको आगो नियन्त्रणमा लिइसकिएको छ भने दोरम्बा शैलुङ्–३ को भीरमा सल्किएको आगो भने नियन्त्रण बाहिर गएको छ।