कुलमानलाई हटाएकोमा सरकारको चौतर्फि आलोचनाः कार्यवाहक सभापति कार्कीले भने ‘तिमीहरूको कुकर्म हामीले भोग्नुपर्ने भो’

१२ गते, रामेछाप । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्न भूमिका खेलको भन्दै आलोचना खेपेको ऊर्जा मन्त्री दीपक खड्कालाई नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली काँग्रेसकै मन्त्री खड्कालाई ‘स्वाँठ’को संज्ञा समेत दिएका हुन् ।
मन्त्री खड्कासहितको ओली सरकारको सोमबार साँझ बसेको मन्त्री परिषद् बैठकले रामेछाप निवासी निर्देशक घिसिङलाई पद मुक्त गरेको थियो । सो निर्णयको सामाजिक सञ्जालबाट कडा शब्दमा आपत्ति जनाउँदै नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति समेत रहेका कार्कीले लेखेका छन् ‘यो कुकर्म तिमिले गर्यौ तर यसको प्रतिफल हामीले भोग्नुपर्ने भो अविवेकी स्वाँठ मन्त्री’ मन्त्री भएर अन्य धेरै राम्रो काम गर्ने ठाउँ पर्ने भए पनि कुलमानलाई दुख दिने, स्पष्टीकरण सोध्ने र उसलाई हटाउने बाहेक अरू कुनै काम गर्न सकेनौ’ ।
कार्यवाहक सभापति कार्कीले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय प्रति खेद समेत व्यक्त गरेका छन् । कुलमानलाई हटाउने सरकारको निर्णयको यति बेला चौतर्फी आलोचना भइरहेको छ । भने, सरकारको निर्णय विरुद्ध कुलमान अदालत जाने तयारीमा रहेको जानकारीहरू आइरहेका छन् ।