राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार रजकको निधनमा आन्दोलनमा उत्रिए रामेछापका पत्रकार, कसले के भने (भिडिओसहित)

१६ चैत, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले तीनकुनेको व्यवसायीक भवन भित्र रिपोर्टिङको क्रममा भीषण आगोलागि तोड् फोड् भएको घरभित्रै थुनिएर ज्यानै गुमाउन पुगेका ‘टेलिभिजन पत्रकार’ सुरेश रजकको निधनमा विरोध जनाएको छ । महासंघ रामेछापले निधन भएका पत्रकार रजकले न्यायको माग गर्दै उनको निधनमा संलग्नहरूलाई कारबाहीको समेत माग गरेको छ ।
शनिवार रामेछापको मन्थली देवकोटा चोकमा शोक सभा एवं शान्तिपूर्ण धर्ना दिँदै महासंघ रामेछापका पत्रकारहरूले स्वतन्त्र प्रेसको प्रत्याभूति दिलाउन सम्बन्धित सबैमा माग एवं आग्रह समेत गरेका छन् ।
बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीसहित मानव अधिकार एलाइन्सका केन्द्र सदस्यहरू समेतको ऐक्यबद्धता र समर्थन पाएको महासंघ रामेछापको उक्त शोक सभा एवं विरोध सभामा बोल्दै महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले पत्रकारको निधन (हत्या) मा संलग्नहरूको सरकारले निश्चपक्ष छानबिन गरी कारबाही गर्न माग गरे । पत्रकारहरू जुनसुकै आन्दोलनको क्रममा पनि हिंसाको मारमा पर्ने गरेकोमा ध्यानाकर्षण भएको जनाउँदै चित्त नबुझेको कुरामा जान सक्ने अन्य विभिन्न निकाय हुँदा हुँदै पनि भौतिक आक्रमण हुन अशोभनीय र निन्दनीय कार्य भएको जिकिर गरे ।
त्यस्तै महासंघका केन्द्रीय सदस्य एवं इन्सेककर्मी समेत रहेका पत्रकार नवराज पथिकले जहाँ जे आन्दोलन भए पनि मानिसको ज्यू धनको रक्षा पहिलो हुने स्मरण गराउँदै राजावादीहरूले आन्दोलनका सामान्य विधि–विधानलाई समेत लत्त्याएको जिकिर गरे । उनले फालिसकेको राजसंस्था संविधानले दिएको अधिकार भित्र रहेर आन्दोलन र खबरदारी गर्न पाइने भए पनि मान्छेलाई ज्यूँदै जलाउने घटना असह्यै हुने धारणा राखे ।
त्यस्तै, नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका जिल्ला संवाददाता हिमाल ढुङ्गेलले हिजोको राजावादीहरूको आन्दोलनले मिडिया माथि प्रहार गर्नु ‘विगतकै राज संस्था’को झल्को दिएको स्मरण गरे । उनले मिडियाहरूकै कारण आफूहरू फालिएको आक्रोश आज पनि देखाइरहेको उल्लेख गर्दै मिडिया हाउसहरूमा ताकि–ताकि प्रहार गर्नु राजवादीहरूको ‘उग्र वाद्य’ भएको बताए ।
पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले पत्रकारहरूले लेखे, बोकेकै भरमा ज्यान गुमाउनु पर्ने परिस्थिति देखिन अत्यन्तै चिन्ताजनक भएको धारणा राखे । आफूहरूले राजसंस्था समेत अनुभव गरेको स्मरण गर्दै पत्रकार नयाँघरेले आन्दोलनको नाममा हत्या, हिंसा र आतङ्क निन्दनीय भएको उल्लेख गरे ।
शनिवारै परेको नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसको कार्यक्रम सहित पूर्व निर्धारित सबै कार्यक्रमहरू अर्को सूचना नभए सम्मको लागि स्थगित गरेको महासंघले स्वतन्त्र पत्रकारिताको प्रत्याभूति गर्न माग गरेको छ । जिल्ला शाखाले महासंघको स्थापना दिवसकै अवसरमा तय गरेको सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य जाँच (होलबडी चेकप) कार्यक्रम स्थगित गरेर आन्दोलनमा जान बाध्य भएको महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले बताए ।
केन्द्रको सर्कुलर अनुसार आफूहरू सडकमा आएको जानकारी गराउँदै मृतक पत्रकारले न्याय पाउनु पर्नेमा जोड् दिए ।
जिल्लामा क्रियाशील महासंघ निकट सबै पत्रकारहरूको उपस्थिति रहेको सो शोक सभा एवं शान्तिपूर्ण विरोध सभामा पत्रकारहरूले मृतक पत्रकार रजक प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनको आत्मको शान्तिको लागि मौन धारण समेत गरेका छन् ।