रामेछापको दोरम्बा शैलुङ्मा वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, ७ नम्बरलाई हराउँदै ४ नम्बर बन्यो विजेता

२४ चैत, रामेछाप । रामेछापको दोरम्बा शैलुङ्मा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिता वडा नं ४ गौश्वारले जितेको छ । उसले प्रतियोगिता जितेसँगै नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ ।
गएको बिहीबारदेखि वडा नं ३ टोकरपुर स्थित पालिकाको खेलमैदानमा भएको प्रतियोगितामा वडा नं ४ ले वडा नं ७ थापागाउँलाई ४–१ गोलले हराएको पालिका खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजन मगरले रामेछाप टाइम्सलाई जानकारी दिए ।
विजेताहरूलाई पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले उपाध्यक्ष खमला थापा मगरसहितको उपस्थितिमा नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरे ।
तीन दिन सम्म चलेको ७ वटै वडा सहभागी फुटबल प्रतियोगितामा उपविजेता बनेको वडा नं ७ थापागाउँले नगद १ लाख रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । पालिकाको खेलकुद विकास समितिको आयोजनामा भएको पहिलो फुटबल प्रतियोगितामा दुई टिमलाई तृतीय पुरस्कार दिइएको छ ।
जसअनुसार वडा नं ५ गुन्साल र वडा नं ३ टोकरपुर तेस्रो भएका छन् । उनीहरूले नगद २५–२५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । पालिका खेलकुद विकास समितिले चालु आर्थिक वर्षमा यस अगाडि पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता संचालन गरेको थियो ।
खेलकुद क्षेत्रमा त्यहाँका युवाहरूले देखाएको चासो र चिन्तनलाई ध्यानमा राख्दै दोरम्बा शैलुङ् गाउँपालिकाको खेलकुद विकास समिति आगामी दिनमा थप कार्यक्रम गर्ने बताउँदै समितिका अध्यक्ष मगरले भने ‘हामी चाँडै पालिका फुटबल समितिको संयोजक तोक्दै छौँ ।’
विधागत खेलाडी आफ्नो पक्षमा पार्ने पनि वडा नं ४ गौश्वार नै प्रथम
गौश्वारले विधागत उत्कृष्ट खेलाडी पनि आफ्नो पक्षमा धेरै पार्न सफल भएको छ । जस अनुसार सर्वाधिक गोल कर्ता वडा नं ४ को अर्यन थापा मगर (५गोल) पार्न सफल भएको छ । उनले नगद २ हजारसहित ट्रफिले सम्मानित भएका छन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडी भने उपविजेता बनेको वडा नं ७ थापागाउँले लान सफल भएको छ । वडा नं ७ का अनिल लामा सो खेलकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
चार विधामा उत्कृष्ट खेलाडी घोषणा गरेको आयोजकले ‘बेस्ट गोल किपर’ मा मिलन श्रेष्ठ (वडा नं ४) नै सफल भएको छ । भने, ‘बेस्ट डिफेन्डर’ पनि अनिल श्रेष्ठ (वडा नं ४) नै परेका छन् ।