गणतन्त्र दिवसको अवसरमा हिलेदेवीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

| जेठ ५, २०८२ आइतबार

सांकेतिक तस्बिर
A A A
A A A

४ जेठ, रामेछाप । रामेछापको हिलेदेवीमा गणतन्त्र दिवसको अवसरमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ १७ औँ गणतन्त्र दिवस–२०८२ को अवसरमा हिलेदेवीमा वडा स्तरीय भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गरिएको पालिकाको वडा नं ३ को कार्यालयले जनाएको छ । 

 

यही जेठको १५ र १६ गते हिलेदेवी खेल मैदानमा खेलाउने गरी आयोजित उक्त प्रतियोगिताले स्थानीय युवा तथा खेलाडीहरूमा खेलकुदप्रतिको अभिरुचि वृद्धि गर्नुका साथै गणतन्त्र दिवसको सम्मानमा उत्सवमय वातावरण सिर्जना हुने आयोजकको दाबी छ । 

 

वडा नं ३ कार्यालयको प्रायोजनमा र युवा तथा खेलकुद व्यवस्थापन समिति हिलेदेवीको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । 

 

त्यस्तै, दोस्रो हुने टिमले नगद ३० हजार, तेस्रो हुनेले नगद २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । 

 

सान्त्वना हुने टिमले नगद ५ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीलाई नगद ५ हजार उत्कृष्ट स्पाइकरलाई नगद ५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने बताइएको छ । 

 

प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको र पालिकाका सबै वडाहरूबाट टोलीहरूको सहभागिता अपेक्षित गरिएको आयोजक समितिले जनाएको छ।