मन्थली नगरपालिका जेठ मसान्त भित्रै ‘बालमैत्री नगर घोषणा’ गर्दैः अहिले सम्म भयो ४ करोड बढी खर्च (भिडिओसहित)

६ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले यही जेठ मसान्त भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताएको छ । नगरपालिकाले बालमैत्री नगर घोषणा गर्न आवश्यक ५१ वटा सूचक मध्य लगभग सबै पूरा गरिएको विवरण सार्वजनिक गर्दै जेठ मसान्त भित्र जिल्ला स्तरीय स्थलगत अनुगमन सकेर वडाहरूलाई बालमैत्री घोषणा गर्ने र त्यस लगत्तै नगर घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको हो । यस अगाडि २०८१ जेठ मसान्त भित्रै बालमैत्री नगर घोषणा गर्ने लक्ष्य सार्वजनिक गरिएको थियो । सो, बेलामा तयारी नपुगेको भन्दै सोही वर्षको चैत्र २५ गते भित्र घोषणा गर्ने गरी सारिएको थियो । त्यति बेला पनि घोषणा नगरी मिति सारेको नगरपालिकाले २०८२ जेठ मसान्त भित्र घोषणा गर्ने लक्ष्य अगाडि सार्दै चरणबद्ध रूपमा काम अगाडि बढाएको हो ।
मंगलबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै नगरपालिकाले बालमैत्री नगर घोषणा गर्न हाल सम्म कूल ४ करोड १७ लाख ६८ हजार ५ सय रुपैयाँ खर्च भएको नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले बताए । विशेष गरी बालमैत्री पूर्वाधार निर्माण, बालउद्दान, शौचालय, स्तनपान कक्षा, विद्यालय घेरा बार जस्ता बालमैत्री संरचना निर्माणमा खर्च भएको बताउँदै सूचना अधिकारी बुढाथोकीले १४ वटा वडामा गठन भएका बाल समूह, बालसंजाल, किशोरी समूह, किशोरी सञ्जाल, विद्यालय स्तरीय बाल समूह, टोल स्तरी बाल समूह हुँदै नगर स्तरीय सञ्जाल जस्ता समितिहरू गठन गरिएको र ती समूहहरू मार्फत नगर भरका चार हजार २ सय ५७ जना बालबालिकाहरू आबद्ध भएको सूचना अधिकारी बुढाथोकीले जानकारी गराए ।
पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि । तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स
अनुगमन, मूल्याङ्कन र प्रतिवेदनको चरणसहित नीति तथा योजना तर्जुमा कार्यान्वयनको चरण सकेर घोषणाको चरणमा पुगेको प्रष्ट पार्दै सूचना अधिकारी बुढाथोकीले पूर्व घोषित समयमा घोषणा गर्न नसके पनि यो पटक घोषणा गरेर कार्यान्वयन प्रतिबद्धता पूरा गर्ने दोहोर्याए ।
२०७९ पुस ९ र १० गतेको नगर सभाले पारित गरी बालमैत्री नगर घोषणा गर्ने अभियान थालेको जिल्ला सदरमुकाम मन्थलीले बालबालिकाहरूको क्षेत्रमा उल्लेख्य कार्य भएको विश्वास व्यक्त गरेको छ । सबै वडामा खटिएका बालमैत्री सहजकर्तासहित स्वयंसेविका, वडा बालमैत्री सम्पर्क व्यक्ति, वडा अध्यक्षसहित नगर शाखाका कर्मचारीहरूले जनप्रतिनिधिले र राज्यले अवलम्बन गरेको नीति एवं सूचक भित्र रहेर काम गर्दा उद्देश्य हासिल गर्ने पक्षमा पुगेको नगर महाशाखा प्रमुख एवं सूचना अधिकारी बुढाथोकीले बताए ।
सन २०३० सम्म दिगो विकासका लक्ष्य अथवा बालमैत्री स्थानीय शासन युक्त राष्ट्र घोषणा गर्न सहयोग पुर्याउने कार्य स्वरूप मन्थली नगरपालिकामा अभियान तीव्र गतिमा लागू गरिएको हो ।
नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटासहित नगरका प्रवक्ता एवं ८ नं का वडा अध्यक्ष गोपाल श्रेष्ठ र ५ का अध्यक्ष रविन कार्की (नवीन)सहितको उपस्थिति रहेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लव श्रेष्ठले बालमैत्री नगर घोषणाको लागि भइरहेका तयारीमा केही सुधार गर्नु पर्ने भए सुधार गर्दै दिगो तरिकाले टिकाउन गरी घोषणा गर्ने धारणा राखे ।
मन्थली नगरपालिका–७ भटौलीमा वडा स्तरीय योजना तर्जुमा कार्यक्रममा छलफल गर्दै बालबालिका, तस्बिरः समिल कर्माचार्य कम्प्युटर अप्रेटर एवं वडा बालमैत्री सहजकर्ता ।
प्रचारप्रसारमा बालबालिका र सम्बन्धित शाखाहरूले मात्रै गरी रहेको धारणा राख्दै आगामी दिनमा त्यसलाई सुधार गर्ने समेत नगर प्रमुख श्रेष्ठको प्रतिबद्धता रहेको छ ।
जिल्लामा पछिल्लो समय रामेछाप नगरपालिकासहित उमाकुण्ड गाउँपालिकाले समेत बालमैत्री स्थानीय पालिका घोषणाका कार्यक्रम तीव्र गतिमा गरिरहेका छन् ।