मन्थली नगरपालिकाले ‘बालमैत्री नगर घोषणा’ गर्ने मिति १० महिना थप्यो (निर्णयसहित)

| बैशाख २९, २०८१ शनिबार

A A A
A A A

२९ वैशाख, रामेछाप । मन्थली नगरपालिकाले ‘बाल मैत्री नगर घोषणा’ गर्ने समय थपेको छ । गत मङ्गलवार बसेको मन्थली नगरपालिकाको २५ औँ कार्यपालिका बैठकले १० महिना थप गर्दै आगामी चैत्र मसान्त सम्म समय थपेको नगरपालिकाले जनाएको हो । यस अगाडि मन्थली नगरले आउँदो जेठ मसान्त भित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्यसहित काम गर्दै आएको थियो । 

 

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा २०७९ पुसदेखि औपचारिक रूपमा वडा तहमा कर्मचारी खटाएर बालमैत्री घोषणा गर्न आवश्यक विभिन्न ५१ वडा सूचक पूरा गर्ने कार्य धमाधम भइरहेको छ । हाल सम्म धरै जसो वडाहरूले ३० देखि ३५ वटा सम्म सूचक पूरा गरेकाले बाँकी सूचक अनुसारको काम पूरा गर्न समय थपेको बुझिएको छ । 

घरदैलोमा बालहिंसा, सचेतना मूलक स्टिकर टाँस गर्दै मन्थली नगरपालिका वडा नं १२ की वडा सदस्य 

नगरपालिकाको महिला विकास शाखा मार्फत वडा तहमा खटिएका कम्प्युटर अपरेटर एवं सामाजिक परिचालकहरूले टोल टोलमा बाल समूह, किशोरी समूहसहित विभिन्न समिति गठन गर्ने, अभिमुखीकरण गर्ने, बाल श्रम, बाल विवाह, दाइजो, विद्यालय उमेरका बालबालिकाको पठनपाठनको अवस्था, उनीहरूको सरसफाइ, स्वास्थ्य, खेलकुद सहित विभिन्न विधामा बालबालिकालाई जागृत गर्ने र हरेक ठाउँमा उपलब्धि मूलक उपस्थितमा समेत वृद्धि गर्ने लगायतका कार्यहरू गर्दै आइरहेका छन् ।

 

त्यस्तै १४ वटै वडाका सार्वजनिक स्थल, घर, टोल, विद्यालयहरूमा सचेतना मूलक स्टिकर टाँस गर्ने, प्रतिबद्धता जनाउने हस्ताक्षर संकलन गर्ने, अभिभावक, समुदायसँग छलफल गर्ने, माइकिङ मार्फत बालबालिकाको हक, अधिकार र बाल हिंसा विरुद्धका विषयमा सचेतना गर्न काम वडा तहमा सकिएको नगरको महिला बालबालिका शाखाले जनाएको छ । 

 

नगरबाट वार्षिक बजेट नै व्यवस्थापन गरेर बालबालिकालाई सक्षम र सबल नेतृत्व तहमा पुर्‍याउने गरी काम भइरहे पनि सूचक अनुसारका सबै कार्यक्रम पूरा नहुँदा नगरपालिकाले यो वर्ष ती सूचक पूरा गर्ने उद्देश्यसहित १० महिना समय थपेको हो । 

 

बालमैत्री विषयमा स्वास्थ्य स्वयमसेवीकासंग बाल सहजकर्ताहरुको अन्तरक्रिया गर्दै मन्थली नगरपालिका १२ गेलु, रामेछाप

 

बालमैत्री कार्यक्रम लागू भएपछि नगरका बालबालिकामा उल्लेख्य रूपमा सकारात्मक परिवर्तन देखिएको वडा तहमा कार्यरत कर्मचारीहरू बत्ताउँछन् । तर, विद्यालय, सार्वजनिक कार्यक्रमहरूमा अझै पनि बालबालिकाको उपस्थितिलाई सोचे अनुसारको उपलब्धि मूलक सहभागिता भने गराउन नसकी रहेको उनीहरूको गुनासो छ । 

 

नगरपालिकाले तोकेको मितिमा बालमैत्री नगर घोषणा गर्न सक्दो प्रयास गर्दा पनि सोचे जति सजिलो भने नभएको नगरप्रमुख लव श्रेष्ठले बताउने गरेका छन् । तर, सबै वडा अध्यक्ष यसको लागि सकारात्मक रहेकाले घोषणा गर्न आफूहरू तत्पर रहेको उनको भनाई छ । नगरले बालमैत्री नगर घोषणा गर्न तीव्र गतिमा काम भइरहेको दाबी गर्दै आएको छ । 

 

यो हेर्नुहोस् नगरपालिकाको कार्यापालिका बैठकले गरेका निर्णहरु ?