नेतृ खड्काले पुनः काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने
१९ असोज, रामेछाप । नेपाली काँग्रेसको विशेष महाधिवेशनपछि रामेछापबाट एक मात्रै केन्द्रीय सदस्य बन्न सफल भएकी नेतृ विनीता खड्का पुनः केन्द्रीय सदस्यमा दोहोरिन चाहेकी छिन् । उनी भोलि मंगलबार केन्द्रीय सदस्य बन्नको लागि चुनावी प्रतिस्पर्धा गर्न उम्मेदवारी दिने अन्तिम तयारीमा पुगेको बताएकी छिन् ।
१५ औँ महाधिवेशन अन्तर्गत रामेछापबाट खुल्ला महिला तर्फबाट सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएकी नेतृ खड्काले केन्द्रीय सदस्य खुल्ला तर्फ प्रतिस्पर्धा गर्न लागेको रामेछाप टाइम्सलाई बताइन् । ‘अहिले सम्मको तयारी अनुसार खुल्लामै उम्मेद्वारी दिँदै छु’ केन्द्रीय सदस्य खड्काले भनिन् । आफूले १४ वर्षको उमेर देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएको दाबी गर्दै आएकी नेतृ खड्काले पार्टीलाई एक ढिक्का बनाएर अग्रजहरूको अनुभव र युवाहरूको शक्तिलाई एकत्रित गरी काम गर्नु पर्नेमा जोड् दिँदै आएकी छन् । विशेष महाधिवेशनपछि हामीले पार्टीका आन्तरिक काम मात्रै गर्यौँ अब पार्टीलाई जनतासँग जोड्नको लागि काम गर्ने चाहना छ, उनी भन्छिन् ।
पार्टीको १३ औँ महाधिवेशनमा देशभरकै कान्छी महाधिवेशन प्रतिनिधि र र १४ औँ मा कान्छी केन्द्रीय सदस्य बनेकी नेतृ खड्का विशेष महाधिवेशन पछि केन्द्रीय सदस्यमा चयन भएकी थिइन् । रामेछापको खनियापानीमा जन्मिएका खड्का नेविसंघ र तरुण दलको राजनीतिबाट उदाएकी हुन् ।


