दोरम्बामा ‘पासेवन गोल्ड कप फुटबल’ प्रतियोगिता हुँदै, अनलाइनबाटै टिम दर्ता गर्न सकिने
२८ असोज, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका–४, पासेवनमा खुल्ला फुटबल कप प्रतियोगिता हुने भएको छ । सुनगाभा डेभलपमेन्ट युवा क्लबको आयोजनामा बडा दशैंको टिकाको भोलि पल्टदेखि खेल सुरु हुन लागेको अध्यक्ष सुनिल नगरकोटीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
‘पासेवन गोल्ड कप–२०८३’ नाम दिएको उक्त खुला फुटबल प्रतियोगितामा विजेता हुने टोलीले नगद एक लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने छ ।
उपविजेता टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र जित्ने छ।
तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नगरकोटीले जानकारी दिए । चाड पर्वलाई थप रौनक बनाउनको लागि खेल आयोजना गरिएको उनको भनाई छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन प्रतिटिम ११ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
खेलमा सहभागी हुने टिमको सहजताको लागि अनलाइनमार्फत पनि टिम दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

