प्रेस युनियन रामेछापको शुभकामना आदान प्रदान, सरोकारवाला सबैले भने ‘मौलिकता हराउँदै गयो’
२८ असोज, रामेछाप । नेपाल प्रेस युनियन रामेछापले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बडा दशैं २०८३ को पावन अवसरमा बुधबार जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पूर्ण सरकारी कार्यालयका प्रमुख सहित पत्रकार एवं जिल्लाका संचारकर्मीहरुको उपस्थिति शुभकामना आदान प्रदान गरेको हो ।
मन्थली नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति रामेछापमा जनप्रतिनिधि, सबै तहका कर्मचारीहरू, निजी क्षेत्रका व्यापारी तथा बुद्धिजीवीहरू समेतको उपस्थितिमा चाड पर्वलाई सुरक्षित, सभ्य र भव्य रूपमा मनाउनु पर्नेमा जोड् दिँदै कार्यक्रम आयोजना गरिएको युनियन रामेछापले जानकारी गराएको हो ।
कार्यक्रममा सहभागीहरूले एक अर्कामा शुभकामना साटा–साट गर्दै चाड पर्वमा खानपानमा ध्यान पुर्याउनु पर्ने, बजारमा महँगी बढेकाले बजार अनुगमन, यात्रुको सुरक्षित यात्रामा ध्यान पुर्याउनु पर्ने र मौलिकतालाई जोड् दिनु पर्ने साझा धारणा राखे । उनीहरूले लिङ्गे पिङ हाल्ने, कमेरो छ्याप्ने घरहरू क्रमशः हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
जनप्रतिनिधिहरूले पनि मौलिक दशैं मनाउनु पर्नेमा जोड् दिए भने आ–आफ्ना नागरिकहरू सबैले समान तरिकाले पर्वलाई मनाउन् भन्ने चाहेको धारणा राखे ।
