काँग्रेस संस्थापन इत्तर समूहले रामेछापमा मंसिर १४ गते जिल्ला अधिवेशन गर्ने, के कान्छारामले पूर्व प्रधानमन्त्री देउवा पनि ल्याउँदै छन् !

| मंसिर ३, २०८३ बिहिबार

A A A
A A A

०३ मंसिर, रामेछाप । नेपाली काँग्रेसको संस्थापन इत्तर (देउवा) समूहले रामेछापमा यही मंसिर दोस्रो हप्ता जिल्ला अधिवेशन गर्ने भएको छ । त्यसको लागि देउवा समूहले विभिन्न ५ उप–समूह गठन गरेर जिल्ला अधिवेशनको कार्यलाई अगाडि बढाएको जनाएको हो । इत्तर समूहले १५ औं जिल्ला अधिवेशन मन्थली स्थित तीनलाल पार्कमा गर्ने भनेको छ । 

 

बिहीबार बिहान मन्थलीमा पत्रकार भेटघाट आयोजना गरी काँग्रेस संस्थापन इत्तर समूह रामेछापका संयोजक जितबहादुर मगरले मंसिर १४ गते सोमबार नियमित १५ औँ जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बिहीबार सम्म जिल्लाका ५६ वटा वडाको अधिवेशन सकिएको छ । 

१५ औँ जिल्ला अधिवेशन प्रचार प्रसार समितिका संयोजक समेत रहेका नेता राम कृष्ण खड्का बिहीबार सम्म ५६ वटा वडाको अधिवेशन सकिएको बताउँदै रामेछाप टाइम्ससंग भने ‘कतिपय वडाको अधिवेशन सकिएपछि कागजात हामीसम्म आइपुगेको छैन, हुँदै छ ।’ 

 

काँग्रेस संस्थापन इत्तर समूहले रामेछापमा ६४ वटा वडा मध्ये ८ वटा वडामा अधिवेशन गर्न नसकेको इत्तर पक्षको दाबी छ । नेताहरूले भने सार्वजनिक रूपमा कार्यक्रमहरू नदेखिएको भन्दै प्रश्न गरिरहेका छन् । ‘हाम्रो ठुलो तामझाम गरेर अधिवेशन गर्ने भन्दा पनि संगठनलाई बनाएको हो’ संस्थापन इत्तर समूहका एक नेताको तर्क छ । 

 

पार्टीका केन्द्रीय सभापति र पार्टीको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिएपछि निलम्बनमा परेका काँग्रेस रामेछापका सभापति एवं पूर्व राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) हाल संस्थापन इत्तर समूहमा सक्रिय बन्दै नियमित १५ औँ महाधिवेशन गर्न कस्सिएका हुन् ।  उनैको निवास मन्थलीमा सम्पर्क कार्यालय राखेर इत्तर समूहले १४ गते जिल्लामा भव्य रूपमा महाधिवेशन गर्न लागेको नेताहरूको धारणा छ ।  संस्थापन पक्ष निकै बलियो देखिँदा वडा तहमा इत्तर समूह कमजोर बनेको संस्थापन पक्षको दाबी छ । 

पत्रकार सम्मेलनमा बोल्दै १५ औँ जिल्ला अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न केन्द्रीय नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई रामेछाप ल्याउने तयारी भइरहेको जिल्ला संयोजक थापा मगरको भनाई छ । जिल्लाका नेताहरूले पनि (राजनीतिक विश्लेषकहरू) पूर्व राज्य मन्त्री कान्छारामले आफ्नो राजनीतिक शक्ति देखाउन देउवालाई रामेछाप ल्याउन सक्ने धारणा व्यक्त गर्दै आएका छन् । 

 

इत्तर समूहले यस अगाडि छिमेकी जिल्ला दोलखामा नियमित १५ औँ महाधिवेशन नेताहरूको बाक्लो उपस्थितिमा सम्पन्न गराएको चर्चाका बिच रामेछापमा पनि सोही सङ्ख्यामा नेताहरूको उपस्थिति हुने इत्तर पक्ष रामेछापका नेताहरूले विश्लेषण गर्न थालेका छन् ।