नेपाली काँग्रेस रामेछापका ९ जना महाधिवेशन प्रतिनिधिले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
२१ असोज, रामेछाप । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि रहेका ९ जना नेताले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनीहरू सबैले बेग्ला–बेग्लै समावेशी तथा खुला समूह अन्तर्गतका पदमा उम्मेद्वारी दर्ता गरेका हुन् ।
मंगलबार भएको उम्मेद्वारी दर्तामा जिल्लाबाट खस आर्यतर्फ नेता रामचन्द्र खड्का, महिला खुलातर्फ विनीता खड्का, आदिवासी जनजाति तर्फ गेल्जे लामा शेर्पा, फेसागततर्फ कलाकार प्रकाश कटुवाल र खुलातर्फ युवा नेता सुरेश सुवेदी उम्मेदवार बनेका हुन् ।
त्यस्तै, दलिततर्फ मुक्तबहादुर महते, अल्पसङ्ख्यक तर्फ कुमारी हायु, आदिवासी जनजाति महिला तर्फ ज्योति सुनुवार र अपाङ्गता कोटा तर्फ कुशश्री न्यौपानेले उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेस निर्वाचन समितिले जानकारी दिएको हो ।
रामेछापबाट विभिन्न समूहको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका नेताहरूले पार्टीको केन्द्रीय नेतृत्वमा जिल्लाको आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्न र केन्द्रमा पहुँच पुर्याउनको लागि केन्द्रमा प्रतिस्पर्धामा उत्रिएका हुन् । उम्मेदवारहरूले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् । उनीहरू आ–आफ्नो ठाउँबाट निर्वाचित हुनको लागि सक्रिय पहल थालेका छन् ।
रामेछापको प्रतिनिधित्व, समावेशी सहभागिता र जिल्लाको राजनीतिक आवाजलाई केन्द्रमा बलियो बनाउन सबै उम्मेदवारलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूको समेत अपिल छ। उम्मेद्वार बनेकाहरूले आफूहरूले जिते जिल्लाकै सान बढ्ने भन्दै देशभरका मतदातासहितलाई मत दिन अनुरोध गरिरहेका छन् ।
