रामेछापकै उच्च भूगोलमा निर्माणाधीन नुप्चे जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

| कात्तिक १७, २०८३ मंगलबार

A A A
A A A

१७ कात्तिक, रामेछाप । रामेछाप जिल्लाकै अन्तिम भूगोलमा निर्माणाधीन जलविद्युत आयोजना नुप्चे निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना भौतिक प्रगति ९८ प्रतिशत भन्दा माथि सकिएको बताइएको छ । 

 

जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको माथिल्लो भेगमा निर्माण भइरहेको ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनाको कामले गति लिँदा सम्पन्न हुने चरणमा अगाडि बढी रहेको आयोजनाले जनाएको हो । भिजन इनर्जी एवं पावर लिमिटेड्द्वार (भिइपिएल) द्वारा निर्माण भइरहेको ५७.५ मेगावाट क्षमताको आयोजना नुप्चे खोला र लिखु खोलाको जलस्रोत मिसाएर उत्पादन थाल्ने गरी निर्माण भइरहेको छ । 

 

करिब एक हजार २ मिटर उचाइमा ‘ग्रस हेड’ रहेको आयोजनाको जिल्लाकै सबै भन्दा उच्च भूभागमा बनेको आयोजना हुने सक्ने दाबी गरिएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको जानकारी गराउँदै आयोजनाका सिभिल इन्जिनियर सुर्वन सुवेदीले हिमाली भू–भाग, अत्यधिक उचाइ, कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम तथा दुर्गम पहुँचका कारण निर्माणमा ठुलो चुनौती सामाना गर्नु परेको सुनाए । 

उनका अनुसार विशेष गरी अत्यधिक चिसोका कारण निर्माण उपकरण तथा मेसिनरीमा पटक–पटक खराबी आउने, मर्मतसम्भारमा अतिरिक्त समय लाग्ने तथा उच्च उचाइमा जनशक्ति परिचालन र निर्माण सामग्री ढुवानीमा कठिनाइ हुँदै आएको छ । ‘हामीले धेरै चुनौतीका बिच आयोजना सम्पन्न गर्न लाग्यौँ यो सुखद् पक्ष हो।’

 

जिल्लाको उमाकुण्ड गाउँपालिकामा मात्रै आधा दर्जन जलविद्युत आयोजना सञ्चालन हुन लागेको अवस्था छ। कतिपय आयोजनाहरूले विद्युत् उत्पादन गर्दै आएका छन् । जिल्लाको अन्तिम मानव वस्ति लाछेवर भन्दा झण्डै २५ किलो मिटर माथि आयोजना निर्माण गरिएकाले असोज अन्तिम हुँदै चिसोका कारण काम गर्न समस्या भएको अवस्था छ । आयोजनाका कामदारहरूका ‘असोज देखिनै तुसारो पर्न थालिसक्यो’, भन्छन् । 


भूगोल र मौसमको मुख्य चुनौतीका बिच आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइनसम्बन्धी निर्माण कार्यहरू उल्लेखनीय रूपमा अगाडि बढेको हो । सिभिलतर्फ प्रमुख संरचनाहरूको निर्माण सम्पन्न भई हाल सुरुङको फिनिसिङ, ग्राउटिङ, प्याच रिपेयर, ब्याकफिलिङ तथा बाँकी कङक्रिटसम्बन्धी कार्यहरू अन्तिम चरणमा भइरहेका छन्। 

 

सिभिल इन्जिनियर सुवेदीका अनुसार हाइड्रो मेकानिकलतर्फ हेडवर्क्सका गेट, होइस्टिङ स्ट्यान्ड, मोटर तथा कन्ट्रोल प्यानल जडान काम सकिएको छ, भने पेनस्टक पाइप जडान, इरेक्शन तथा परीक्षणका कार्यहरू धमाधम भइरहेको छ । त्यसै गरी, प्रसारण लाइनतर्फ टावर फाउन्डेसन निर्माण, टावर जडान तथा सम्बन्धित कार्यहरू भइसकेको छ । 

पावर हाउसमा टर्बाइन, जेनरेटर तथा सहायक उपकरणहरूको जडान, संयोजन, परीक्षण र सञ्चालनमा ल्याउनको लागि आवश्यक सबै कामहरू जारी छ । 

 

राष्ट्रिय ऊर्जा विकासमै टेवा पुग्ने 

नेपालमा बढ्दो विद्युत् माग, औद्योगिकीकरण, सहरीकरण तथा विद्युतीय ऊर्जाको बढ्दो प्रयोगसँगै भरपर्दो र स्वच्छ ऊर्जाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ। देशको ऊर्जा आत्मनिर्भरता अभिवृद्धि, विद्युत् आयातमा निर्भरता न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि जलविद्युत क्षेत्रको विकास अपरिहार्य रहेको छ।

 

यसै सन्दर्भमा ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण सम्पन्न भई व्यावसायिक विद्युत् उत्पादन सुरु भएपछि नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यस आयोजनाबाट उत्पादित स्वच्छ तथा नवीकरणीय विद्युतले राष्ट्रिय ऊर्जा आपूर्तिमा थप सहयोग पुराउनुका साथै औद्योगिक विकास, व्यापार, कृषि, पर्यटन तथा अन्य आर्थिक गतिविधिहरूको विस्तारमा समेत योगदान पुराउनेछ।

 

साथै, आन्तरिक विद्युत् उत्पादन क्षमता वृद्धि, ऊर्जा सुरक्षाको सुदृढीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा दिगो विकासका राष्ट्रिय लक्ष्यहरू हासिल गर्न यस आयोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। जलविद्युत स्रोतको सदुपयोगमार्फत देशको आर्थिक समृद्धि र ऊर्जा आत्मनिर्भरताको यात्रामा नुप्चे लिखु जलविद्युत आयोजना एउटा महत्त्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ।