भोटेकोशी बाढीपीडितका लागि रामेछाप नगरपालिकाको ४० लाख सहयोग घोषणा
१९ भदौ, रामेछाप । भदौ १० गते बिहान भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हाल सम्मकै ठुलो बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति रामेछाप नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै आर्थिक सहयोग घोषणा गरेको छ । जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको यो नगरपालिकाले जिल्लाका स्थानीय सरकारको तर्फबाट उपलब्ध गराइएको हाल सम्मकै ठुलो आर्थिक सहयोग घोषणा गर्दै विपत्तिबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नगर प्रमुख लवश्री न्यौपानेले आर्थिक सहयोगसहित प्राकृतिक विपत्तिमा परी पीडामा रहेका शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नु भएको उल्लेख छ । बाढीमा परी बेपत्ता भएका नागरिकको शीघ्र खोजी तथा उद्धार र पुनः स्थापनाका लागि नगरपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहल गर्न जोड दिएको छ । बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस कठिन घडीमा राहत र उद्धारका लागि नगरको तर्फबाट सकेको सहयोग गरेको सार्वजनिक पत्रमा उल्लेख छ ।
९ वटा वडा रहेको यो नगरपालिकाका जनप्रतिनिधिहरूले पाउने १० दिन बराबरको पारिश्रमिक, नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूबाट संघीय सरकारले प्रदान गर्ने सेवा सुविधाको निर्णय बमोजिम प्राप्त हुने रकम र नगरपालिकाको प्रकोप व्यवस्थापन कोष समेतबाट गरी एक एकमुस्ट ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने मेयर न्यौपानेले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

नगरपालिकाले विपद्को समयमा राज्यका सम्पूर्ण संयन्त्र, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई उच्चतम समन्वयका साथ उद्धार, राहत र सहयोगका कार्यमा जुट्न समेत हार्दिक अपिल गरेको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनः स्थापनामा स्थानीय तहको सक्रियता आवश्यक भइरहेका बेला रामेछाप नगरपालिकाको यो सहयोगले मानवीय ऐक्यबद्धताको सन्देश दिएको छ। नगरले रसुवा बाढीमा आफ्ना नगरका जनता परेको वा नपरेको भन्ने बारेमा भने केही बोलेको छैन ।
