काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित खड्काले पाइन् निर्वाचित भएको प्रमाण–पत्र
१२ मंसिर, रामेछाप । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित रामेछापकी विनीता खड्काले केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र पाएकी छिन् । निर्वाचित भएको करिब डेढ महिना पछि उनले निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेकी हुन् । यो सँगै उनीमाथि पार्टीले लगाएको ‘अघोषित प्रतिबन्ध’ समेत खुल्ला भएको छ ।
गत असोज १८ गते देखि २३ गते सम्म काठमाडौं खुल्ला मञ्चमा सम्पन्न १५ औँ महाधिवेशनमा महिला खुलातर्फ देशभरका ५८ महिला नेतृबिच भएको प्रतिस्पर्धामा खड्काले छैटौँ स्थानको मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । निर्वाचन प्रचारप्रसारकै क्रममा इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको थियो ।
तर, काठमाडौं जिल्ला अदालतले जाहेरी तथा उपलब्ध प्रमाणबाट उनको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउन आदेश दिएपछि प्रहरीबाट मुक्त भए पनि काँग्रेसको निर्वाचन समितिले उनलाई अनुसन्धान पूर्ण रूपमा नटुङ्गिदा सम्म निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्न रोक लगाएको थियो । यसरी आफू केन्द्रीय सदस्यमा निर्वाचित भएर पनि प्रमाण–पत्र प्राप्त गर्न नपाएकोमा दुःख व्यक्त गर्दै आएकी नेतृ खड्कालाई निर्वाचन समितिले अन्ततः निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरेकै मिति उल्लेख गरी प्रमाणपत्र प्रदान गरेपछि खड्काले खुसी व्यक्त गरेकी छन् ।
पछिल्लो पटक अनुसन्धान लामो समय सम्म जान सक्ने देखिए पनि ‘नेतृ खड्का उक्त आरोपमा निर्दोष’ रहेको विश्वासिलो आधार देखिएका कारण उनलाई निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरिएको बुझिएको छ । उनले पार्टी सभापति गगनकुमार थापा, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता तथा कठिन समयमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पार्टीभित्र लोकतान्त्रिक मूल्य र आदर्श बलियो बनाउन तथा जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन्।
आरोपले मेरो आत्मविश्वास तोड्न सकेन, कठिन समयले मेरो संकल्प कमजोर बनाउन सकेन, बरु म पहिलेभन्दा अझ दरिलो भएर उभिएकी छु, खड्काले भनेकी छन् । रामेछापबाट नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ९ जनाले उम्मेद्वारी दिएकोमा खड्कासहित दुई जना निर्वाचित भएका छन् । रामेछापबाट नेतृ खड्का र उमाकुण्डका गेल्जे लामा शेर्पा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

