बजेटको प्रचारमा सांसद बुढाथोकी: जनप्रतिनिधि देखि नागरिकले गरे गम्भीर प्रश्न : ‘अंक होइन, परिणाम देखाउनुस्’

| मंसिर १२, २०८३ शनिबार

A A A
A A A

१२ मंसिर, रामेछाप । रामेछापका संघीय सांसद डा. कृष्णहरि बुढाथोकीले सामाजिक सञ्जालमार्फत दैनिकजसो विभिन्न विकास आयोजना र बजेट विनियोजनका विवरण सार्वजनिक गर्दै आएपछि उनको प्रचार शैलीमाथि नागरिकले प्रश्न उठाउन थालेका छन् । सांसद बुढाथोकीले भने संघीय विकास आयोजना तथा बजेटको जानकारी गराउँदा सबै खुसी हुनु पर्नेमा दुःखी भएको देखेर कुरा बुझ्न नसकेको धारणा राखेका छन् ।
 

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले तीन करोड रुपैयाँको सडक बजेटलाई सांसद बुढाथोकीले ठूलै उपलब्धिका रूपमा प्रचार गरेको भन्दै सार्वजनिक आलोचना गरेपछि सामाजिक सञ्जालमा समेत यस विषयले चर्चा पाएको छ । सांसद बुढाथोकीले खाँडादेवी गाउँपालिका केन्द्रदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रेका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको, सुनापति गाउँपालिकाको सडक योजनाका लागि पनि तीन करोड रुपैयाँ छुटाइएको लगायतका विवरण सार्वजनिक गर्दै आएका छन् । त्यस्तै रणजोर खोला नियन्त्रणका लागि ५० लाख रुपैयाँ सुनिश्चित भएको र रामेछाप हुँदै सगरमाथासम्म जोड्ने हिमाली पर्यटन मार्गका लागि बजेटको स्रोत सुनिश्चित भएको विषय पनि उनले सार्वजनिक गरेका छन् । तर बजेटका विवरण सार्वजनिक भइरहँदा त्यसको वास्तविक अवस्था र कार्यान्वयनबारे नागरिकले चासो व्यक्त गरेका छन् ।
 

सांसदको एउटा बजेटसम्बन्धी सामाजिक सञ्जालको लेखाइमा टिप्पणी गर्दै गोकुलगंगाका युवा एवं सामाजिक सञ्जालमा खडका निर न्जी (Kha Dka Nira Njee) ले  नामक प्रयोगकर्ताले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेका छन्, ‘माननीयज्यूले दैनिक सार्वजनिक गर्ने बजेट साँच्चिकै विनियोजन भएको हो कि सामाजिक सञ्जालमा मात्रै फल्ने खेती हो?’

उनले सांसदले बिहान–बेलुका निरन्तर बजेट सार्वजनिक गरिरहेको भन्दै व्यङ्ग्य गर्दै थपेका छन्, ‘हामीलाई सामाजिक सञ्जालमा दैनिक बजेटको अङ्क होइन, गाउँमा देखिने विकास र जनताले अनुभूति गर्ने काम चाहिएको छ।’ उनले बजेट वास्तविक हो भने कुन योजना कहाँ र कहिले कार्यान्वयन हुन्छ भन्ने जानकारी समेत दिन आग्रह गरेका छन्।
 

त्यस्तै नेता, कमल विक्रम कार्कीले बजेट विनियोजन हुनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन महत्त्वपूर्ण हुने टिप्पणी गरेका छन् । उनका अनुसार बजेट अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो कि, ठेक्का प्रक्रियामा गएको हो कि, सम्बन्धित पालिकामा पुगेको हो भन्ने स्पष्ट जानकारी आवश्यक हुने उल्लेख गरेका छन् । उनले फेसबुकमा प्रचार गरेर मात्र विकास नहुने भन्दै प्रश्न गरेका छन्, ‘फेसबुकको भित्ता मात्र भरिने हो कि निर्माणस्थल पनि सजिने हो?’
 

कार्कीले सांसदको पहलबाट आएका आयोजनाको प्रशंसा गर्दै कार्यान्वयनको अवस्था हेर्न बाँकी रहेको बताएका छन्। उनले राजनीतिक मतभेदभन्दा माथि उठेर जिल्लामा काम गरेर देखाउन सांसदलाई सुझावसमेत दिएका छन्।
 

त्यस्तै उज्यालो नेपाल पार्टीका नेता समेत रहेका लालबहादुर तामाङले पनि बजेट निरन्तर विनियोजन भइरहेको विषयमा जिज्ञासा राख्दै घ्याप्चेको पहिरो नियन्त्रणको विषय उठाएका छन् । उनले पहिरोको फेदमा जाली भरेर मात्र नियन्त्रण गर्ने योजना भए त्यो पर्याप्त नहुने भन्दै प्रभावित बस्तीलाई सुरक्षित स्थानमा सार्ने दीर्घकालीन गुरुयोजना बनाउनुपर्ने धारणा राखेका छन् । यस विषयमा सबै राजनीतिक दलबिच छलफल आवश्यक रहेको उनको भनाइ छ।

प्रबिन घिमिरेले भने सांसदको भूमिकामाथि नै जिज्ञासा राख्दै टिप्पणी गरेका छन्, ‘पत्रकार जस्तो पनि छ, नेता पनि हो क्या हो?’ उनले सांसद बुढाथोकीको बजेट बारे जानकारी उल्लेखित विवरणमा आफ्नो धारणा लेखेका हुन् ।

लामो फेरिस्तासहित खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले त सांसद बुढाथोकीको बजेट प्रचारमाथि प्रश्न उठाउँदै सस्तो लोकप्रियताको लागि पदीय जिम्मेवारी बाहिरको काम गरिएको भन्दै सांसद बुढाथोकीमाथि खनिएका छन् । करिब आठ सय किलोमिटर सडक सञ्जाल रहेको खाँडादेवीमा अझै धेरै सडक कालोपत्रे हुन बाँकी रहेको, कतिपय सडकमा नियमित यातायात सञ्चालन हुन नसकेको र पहिरो नियन्त्रण तथा सडक मर्मत सम्भारसमेत चुनौतीपूर्ण रहेको अवस्थामा ३ करोड बजेटले ठूलै विकास उपलब्धि गर्न लागिएको भन्दै असन्तुष्टि पोखेका हुन् । तीन करोड रुपैयाँ विनियोजन भएको विषयलाई ठुलो उपलब्धिका रूपमा प्रस्तुत गर्नुभन्दा पालिकाको समग्र आवश्यकता र सडकको वास्तविक अवस्था बुझ्नुपर्ने सांसद बुढाथोकीसँग अध्यक्ष श्रेष्ठको गुनासो छ ।


यो हेर्नुहोस् अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पत्रकारलाई पठाएको सांसद डा. कृष्णहरि बुढाथोकीको प्रचारविरुद्धको सन्देश 
 



बजेट विनियोजन, स्रोत सुनिश्चितता, आयोजना स्वीकृति, ठेक्का प्रक्रिया र निर्माण सम्पन्न हुनु फरक–फरक विषय रहेको समेत सामाजिक सञ्जालमा नागरिकहरूले धारणा राखेका छन् । त्यसैले जनप्रतिनिधिले बजेट सार्वजनिक गर्दा त्यसको कार्यान्वयनको अवस्था र प्रगतिबारे पनि स्पष्ट जानकारी दिनुपर्ने उनीहरूको अपेक्षा देखिन्छ।
 

विकासका योजना सार्वजनिक गर्नु जनप्रतिनिधिको जिम्मेवारी भए पनि नागरिकले खोजेको कुरा सामाजिक सञ्जालमा बजेटका अङ्क थपिँदै जानु मात्र होइन, गाउँमा सडक बन्नु, पहिरो नियन्त्रण हुनु र जनताको दैनिक जीवन सहज बन्नु आजको आवश्यकता रहेको सामाजिक संजाल प्रयोगकर्ताले सांसद बुढाथोकीको जानकारीसहितको स्टाटसमा उल्लेख गरेको पाइयो ।