रामेछाप उमाकुण्डका गेल्जे लामा शेर्पा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित
२८ असोज, रामेछाप । रामेछापका गेल्जे लामा शेर्पा नेपाली काँग्रेसको केन्द्रीय निर्वाचित भएका छन् । उनी आदिवासी जनजाति ‘कलस्टर’ तर्फ निर्वाचित भएका हुन् । जिल्लामा पार्टीलाई एक ढिक्का बनाउने आफ्नो काम हुने उनको भनाई छ।
नेपाली काँग्रेस रामेछापबाट आदिवासी जनजाति कोटा बाटै ४९९ मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका शेर्पा केन्द्रमा पनि सोही कलस्टरमा १ हजार ९ सय ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले रामेछापबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए आफू केन्द्रीय सदस्य बनेर छाड्ने जिकिर यस अगाडि नै गर्दै आएका थिए ।
केन्द्रमा आदिवासी जनजाति कलस्टरमा देशभरका ४१ जना नेताहरूले उक्त पदमा उम्मेद्वारी दिएका थिए । प्रतिस्पर्धामा रामेछापको उमाकुण्ड गाउँपालिका –२, निवासी शेर्पाले १२ मध्ये ९ औ स्थान सुरक्षित गर्दै केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।
आदिवासी जनजाति महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष समेत रहेका शेर्पा रामेछापबाट १४ औँ महाधिवेशनमा समेत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचित भएपछि रामेछाप टाइम्ससंग कुरा गर्दै अब रामेछापमा नेपाली काँग्रेसलाई एकताबद्ध बनाएर लैजाने योजना सुनाए ।
उनले भने ‘जिल्लामा पार्टी सभापतिसहितका साथीहरूसँग छलफल गरेर संगठनलाई एक ढिक्का बनाउँदै विभिन्न गुट–उपगुटको अन्त्य गरी काँग्रेसलाई बलियो तथा जनताको विश्वासिलो पार्टीको रूपमा स्थापित गर्ने हाम्रो जिम्मेवारी काँधमा आएको छ ।’
नेपाली काँग्रेसको जारी १५ औँ महाधिवेशनको मत गणनाको हाल सम्मको मत परिणाम अनुसार रामेछापबाट ९ जना प्रतिस्पर्धा गरेका मध्ये नेतृ विनीता खड्का र शेर्पा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
