रामेछाप नगरपालिका–१ गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले दिए पदबाट राजीनामा
२१ असोज, रामेछाप । रामेछाप नगरपालिका–१, गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् । उनले नगरपालिकाको समग्र निर्णय प्रक्रियामा प्रश्न उठाउँदै राजीनामा दिएका छन् ।
बुधवार वडा अध्यक्ष खत्रीले सार्वजनिक गरेको राजीनामा पत्रमा पछिल्लो समय नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं १, गोठगाउँ प्रतिको व्यवहारका कारण जनप्रतिनिधिका रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको उल्लेख गरेका छन् । वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखेर काम गर्न कठिनाइ भएको भन्दै उनले जनतासँग गरेका प्रतिबद्धता र अपेक्षाअनुसार काम गर्न नसकेको अवस्थामा पदमा निरन्तर रहनु उचित नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका हुन् । उनले राजीनामा पत्रमा लेखेका छन् ‘वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखी अघि बढ्नुपर्ने अवस्थामा बहुमत र अल्पमतको आधारमा व्यवहार हुने, वडा नं १ का जायज माग तथा आवश्यकतालाई अपेक्षित प्राथमिकता नदिइने र विकास तथा जनसरोकारक विषयमा समान दृष्टिकोण कायम हुन नसकेको अवस्था छ’ ।
निर्वाचनका क्रममा जनतासमक्ष गरिएका प्रतिबद्धता पूरा गर्न नसक्दा निर्वाचित वडा अध्यक्षका रूपमा आफैले थप कठिनाइ भोग्नुपरेको दाबी गरेका उनले जनताको उचित माग र वडाको हितभन्दा व्यक्तिगत असहमति, पूर्वाग्रह वा आन्तरिक मतभेदले प्राथमिकता पाएको जिकिर गरेका छन् ।
राजीनामा पत्रमा उनले जनताको पक्षमा काम गर्ने आफ्नो प्रतिबद्धता पदबाट अलग भए पनि निरन्तर रहने उल्लेख गर्दै आगामी दिनमा पनि रामेछापको विकास, सुशासन, जनहित र सामाजिक न्यायका पक्षमा आफ्नो क्षमता र विवेकले भ्याएसम्म योगदान गरिरहने बताएका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

