‘एनसिसि तालिममा रामेछापको पटनादेवी मावि प्रथम, सन्दीप तामाङ उत्कृष्ट छात्र
२९ असोज, रामेछाप । नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसिसि) को सी.सं. ५२ जुनियर डिभिजन तालिमअन्तर्गत रामेछापको पटनादेवी माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ। मन्थली नगरपालिका–१ स्थित नागकन्या माध्यमिक विद्यालय र रामेछाप नगरपालिका–७, भालुखोपस्थित पटनादेवी माध्यमिक विद्यालयका ३०–३० जना गरी ६० जना विद्यार्थी सहभागी तालिम खड्ग दल गणको जिम्मेवारीमा सञ्चालन गरिएको थियो।
बर्दिबासस्थित राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयमा सञ्चालित वार्षिक सामूहिक क्याम्पको पहिलो चरणमा सहभागी १९ विद्यालयमध्ये पटनादेवी मावि प्रथम भएको हो। सोही विद्यालयका सन्दीप तामाङ उत्कृष्ट छात्र घोषित भएका छन् भने सन्दीप तामाङ र परिना तामाङ कम्पनी यजुनिर अन्डर अफिसरका रूपमा छनोट भएका छन्।
त्यसैगरी, पटनादेवी माविले १५०० मिटर दौडमा तेस्रो स्थान हासिल गर्दा नागकन्या माविले भलिबलमा प्रथम र फुटबलमा तेस्रो स्थान प्राप्त गरेको छ।
‘अनुशासन नै राष्ट्र सेवाको मूल आधार हो’ भन्ने आदर्श वाक्यसहित सञ्चालित तालिमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्र सेवाको भावना विकास गर्ने लक्ष्य राखेको छ। खड्ग दल गणको समन्वयमा सञ्चालित उक्त तालिममा दुई विद्यालयमा गणबाट प्रशिक्षक खटिएर प्रशिक्षण गरेका थिए ।
बुधवार सम्पन्न तालिममा प्रशिक्षार्थीहरूलाई खड्ग दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र आङ्देम्बेको उपस्थितिमा प्रमाणपत्र वितरण एवं तालिम समापन गरिएको थियो ।
