रामेछापमा तिहारलक्षित बजार अनुगमन : प्लास्टिकका फूल बिक्री गर्नेलाई कडा कारबाही गर्ने अनुगमन टोलीको चेतावनी
१९ कत्तिक, रामेछाप । तिहार नजिकिएसँगै रामेछापमा बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वको समयमा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने र बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम मूल्यवृद्धि तथा गैरकानुनी व्यापारलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला बजार अनुगमन समितिले बजार अनुगमन थालेको हो ।
जिल्लामा उपभोक्ताको हक, हित बारेमा संरक्षणको मुख्य जिम्मेवारी बोकेको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, मन्थली नगरपालिका र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त सहभागितामा मन्थली नगरपालिका–१ स्थित मन्थली बजारका फेन्सी तथा कस्मेटिक पसलमा अनुगमन गरिएको गरिएको समितिले जनाएको हो । बिहीबार आकस्मिक गरिएको अनुगमनका क्रममा जिल्ला सदरमुकामका विभिन्न ११ वटा पसलमा निरीक्षण गरी कैफियत देखिएकालाई तत्काल सुधार गर्न सुझाइएको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले जानकारी दिए । उनका अनुसार चाड पर्वको बेलामा व्यापारीहरूलाई त्रसित नबनाई उपभोक्ताको हितमा ध्यान दिन सुझाइएको छ ।
जिल्ला कै मुख्य बजारमा चाड पर्वको मौकामा हुन सक्ने कालोबजारीलाई समेत प्राथमिकतामा रहेर गरिएको अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायलाई सात दिनभित्र सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गर्न निर्देशन दिइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, म्याद गुज्रिएका वस्तु बिक्री गरेको पाइएमा र व्यवसाय दर्ता गर्दा उल्लेख गरिएको उद्देश्य विपरीत कारोबार गरेको भेटिएमा समेत प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।

अनुगमनका क्रममा कतिपय व्यपारीहरुले खाद्यान्न, इलेकट्रोनिक्स पसलमा कस्मेटिक र भाइटिकाको समेत सामाग्री बिक्री गरिरहेको फेला पारिएपछि व्यवसायीलाई त्यसो नगर्न भनिएको प्रमुख घिमिरेको भनाई छ । तिहारमा प्रयोग हुने भाइ मसला, झिलमिले बत्ती सहित प्लास्टिकका माला समेत बजारमा छ्याप छ्यापति भेटिएपछि अनुगमन टोलीले प्रतिबन्धित माला तत्काल हटाउन निर्देशन गरेको प्रमुख घिमिरेको भनाई छ।
विगतका वर्ष देखि नै तिहारमा प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्दै प्लास्टिक तथा कृत्रिम फूल बिक्री वितरण नगर्न पूर्ण रूपमा रोक लगाइएको छ । तर, नियम विपरीत व्यवसायीहरूले बजारमा छ्यापछ्याप्ती प्लास्टिकका फूल बिक्री गर्न फिँजाएपछि अनुगमन टोलीले आठ (८) वटा पसलबाट हटाउँदै अब देखि बिक्री वितरण गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

चाडपर्वको नाममा उपभोक्ता ठगिने, कृत्रिम मूल्यवृद्धि गर्ने, गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने र गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ।
बजारलाई स्वच्छ, व्यवस्थित र उपभोक्तामैत्री बनाउन व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न र उपभोक्तालाई पनि सामान खरिद गर्दा मूल्य, गुणस्तर तथा उपभोग्य मिति जाँच गर्न आग्रह गरिएको छ।
