रसुवा बाढी पीडितलाई रामेछापका व्यवसायी श्याम थापाले गरे ५ लाख बढी सहयोग

| भदौ १५, २०८३ सोमबार

A A A
A A A

१५ भदौ, रामेछाप । रामेछापका कुशल व्यवसायीको रुपमा परिचित श्याम थापाले बाढी पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । विगतका वर्षमा रामेछापबाट उत्कृष्ट करदाताको रुपमा सम्मानित हुँदै आएका थापाले गएको शुक्रवार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा’ रु ५ लाख ११ हजार रुपैयाँ जम्मा गरेको थापाले बताएका हुन् । 

 

‘मैले शुक्रवार चेक काटेको थिए, बिदाका कारण सोमबार मात्रै सरकारी खातामा रकम जम्मा भएको’ स्पष्ट पार्दै व्यवसायी थापाले रामेछाप टाइम्ससंग भने ‘मलाई बाहिर ल्याउन त मन थिएन।’ जिल्ला सदरमुकाम मन्थलीमा लामो समयदेखि खाद्यान्न, पियपदार्थ लगायतका सामाग्रीको होलसेल व्यवसाय गर्दै आएका थापा रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सहकारी अभियन्ता समेत हुन् । सहयोगी मनका धनी थापाले जिल्लामा पनि विभिन्न क्षेत्रमा आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएका छन् । सहयोगको विषयलाई सार्वजनिक गर्नु आवश्यक नभएको उनको तर्क छ । 

 

यस अगाडि रामेछापको सुनापति गाउँपालिकाले पालिकाको तर्फबाट रु २ लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय सार्वजनिक गरेको थियो । पीडितलाई राहत रकम जम्मा गरेर समाजसेवी बन्ने दौड ‘मुड’ चलेपछि प्रविधिको दुरुपयोग गर्दै नक्कली ‘अनलाइन भौचर’ सार्वजनिक गरेपछि रामेछापकै गोकुलगंगा गाउँपालिका वडा नं २, ठोसेका भगवान् कार्की प्रहरी थुनामा छन् । राष्ट्रिय विपद्मा समेत जिल्लाका युवाले यस्तो हर्कत गरी बद्नाम गरिरहेका बेलामा व्यवसायी थापाले व्यक्तिगत सहयोगी हात बढाएका हुन् । 

 

नेपाल–चीन सीमामा पर्ने हिमालमा हिउँको पहिरो खसी जमेको पोखरी थुनिएर फुटेपछि आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै बहने भोटेकोशी, त्रिशूलीमा आएको बाढीले बिताण्ड मच्चाएर देशैशोकमा परेपछि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आर्थिक एवं प्राविधिक सहयोग लिइरहेको छ । 

 

भोटेकोशीको बाढीमा परी रामेछापका हाल सम्म ३२ जना सम्पर्कमा आएका छन् भने ४ दर्जन बढी सम्पर्क विहीन रहेको अनुमान गरिँदै आएको छ ।