रामेछापमा पनि रित्तिन थाल्यो ग्यास : ३४ सय बढी सिलिण्डर रित्तो, व्यवसायी भन्छन् ‘लाइन लाग्छ’ (भिडिओसहित)

| भदौ ४, २०८३ बिहिबार

A A A
A A A

०३ भदौ, रामेछाप । रामेछापमा पनि ग्यासको अभाव देखिन थालेको छ । ३४ सय भन्दा बढी सिलिण्डर रित्तो भएपछि व्यवसायी र उपभोक्ता आत्तिएका हुन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा जस्तै रामेछापमा पनि ग्यासको अभाव खड्किएको छ । देशैभरि ग्यास अभाव भइरहँदा रामेछापमा पनि पछिल्ला केही दिन यता न्यून मात्रामा भरिएका सिलिण्डर आयात हुँदा समस्या देखिन थालेको बिक्रेताहरूले बताएका छन् । 

 

जिल्लामा ७ वटा सप्लायर्सहरुले खाना पकाउने एलपी ग्यास आयात गरी बिक्री वितरण गर्दै आएका छन् । मन्थलीबाट पिके जनरल स्टोर्स, आर डी कोल्ड स्टोर्स, साँघुटार खाद्य स्टोर्स, न्यू घिमिरे स्टोर्स, पौडेल, सप्लायर्स, तामाकोशी इन्टरप्राइजेज र लक्की हार्डवेयर एण्ड सप्लायर्सले नोबेल, जगदम्बा, सूर्य, सागर, एभ्रेष्ट, सगुन र एच.पि.ग्यास विक्री,वितरण गर्दै आएका छन् । ग्रामीण बस्तीमा समेत एलपी ग्यासको प्रयोग कर्ता बढ्दै गएको अवस्थामा अन्यत्रको जस्तै यहाँ पनि एका–एका समस्या देखिँदा उपभोक्ताहरू त्रासमा परेका हुन् । बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापले दिएको जानकारी अनुसार एउटा आधा भरेकोसहित ७ वटै बिक्री केन्द्रमा गरी जम्मा २१० वटा मात्रै सिलिण्डर भरी हुँदा ३ हजार ४ सय ४७ वटा सिलिण्डर रित्तो छन् । 
 

खुर्कोटको पुलको भारबहन क्षमताको असरले पनि ग्यास ढुवानीमा समस्या देखिएको व्यवसायीहरूको गुनासो छ । सुनकोसीले बगाएपछि पुनः निर्माण गरी बनाएको बेलिब्रिजले ‘फूल गाडी लोड नधान्ने हुँदा’ बाध्यताले आधा सामान ल्याउनु पर्दा व्यवसायी र उपभोक्ता दुबैलाई मर्का थपिएको ढुवानीकर्ताहरूको भनाई छ । ‘हामी सामान लिज जाँदा पनि फूल गाडी ल्याउने अवस्था छैन, पुलले धान्दैन, गएको बेला फूल लोड ल्याउन मिले यो समस्या हुने थिएन, एक चालकले रामेछाप टाइम्ससंग भने ।’

 

बिहीबारको तथ्याङ्क अनुसार जम्मा १०२० वटा सिलिण्डर भर्नको लागि पठाइएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी राम कृष्ण केसीले जानकारी दिए । खाली सिलिण्डरको संख्या धेरै भए पनि ठुलो समस्या भएको गुनासो नआएकाले आत्ती हाल्नु पर्ने अवस्थामा नरहेको उनको तर्क छ । कालोबजारीलाई रोक्नको लागि आफूहरूले नजिकबाट काम गरिरहेको बजार अनुगमन समितिका जिल्ला संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी केसीको भनाई छ।
 

ग्यास आयातमा व्यवसायी पिछे समस्या फरक–फरक छन् । केही व्यवसायीले प्राप्त कोट अनुसार ग्यास लिई रहेका छन् त कसैले डिलर सँग झगडै गरेर ग्यास ल्याउनु परेको व्यवसायीहरूले सुनाएका छन् । पौडेल सप्लायर्सले ग्यास ल्याउन बिक्रेतासँग लफडै गरेर थोरै ग्यास ल्याएको हरि प्रसाद पौडेलले सुनाए । उनले बिक्रेताहरूको माग अनुसार सामान दिन सक्ने अवस्थै नरहेको बताउँदै केही दिन यस्तै समस्या देखिएको अन्य जिल्लाको जस्तै लाइन देखिने आङ्कलन गरे । उनले सरोकारवालाहरू सबै मिलेर समस्या समाधानमा जुट्नु पर्नेमा जोड् दिए । नत्र समस्या भए बहा बन्न सक्ने उनको आङ्कलन छ ।

 

तामाकोशी इन्टरप्राइजेजका सञ्चालक उमेश खड्काले भने पहिलेको तुलनामा केही समस्या देखि पनि ठुलो समस्या नरहेको बताए । उनले कोटा तोकेर ग्यास प्राप्त भइरहेको जानकारी गराउँदै प्राप्त ग्यास स्टक नराखी वितरण गर्दै आएको बताए । उनले माग अनुसार उपलब्ध गर्न भने समस्या रहेको सुनाए । 

राम कृष्ण केसी, सहायक प्रमुख जिल्ला अधिकारी रामेछाप ।