भोटेकोशी बाढीपीडितका लागि रामेछापबाट गोकुलगंगा गाउँपालिकाको ठुलो सहयोग, २२ लाखभन्दा बढी रकम उद्धार कोषमा जम्मा गर्दै
विपद् व्यवस्थापन कोषबाट १ लाखसहित जनप्रतिनिधि, कर्मचारी र शिक्षकले समेत राहतमा गरे सहयोग१७ भदौ, रामेछाप । गएको बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि गोकुलगंगा गाउँपालिकाले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा रामेछापबाट ठुलो आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। ६ वटा वडा रहेको यो गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै विपद् व्यवस्थापन कोषबाट १ लाख, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूबाट मासिक प्रारिश्रमिकको १० प्रतिशत हुन आउने ३९ हजार ३ सय ५० रुपैयाँ, अधिकृतस्तरका कर्मचारी, शिक्षकहरूको ७ दिनको तलब बराबर हुन आउने रु ५ लाख ६० हजार १ सय ५० रुपैयाँ विपद् उद्धारका लागि विपद् कोषमा जम्मा गर्ने गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले जानकारी दिनु भयो । गएको आइतबार बसेको गाउँ कार्यपालिका बैठकको बाट उक्त राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष खड्काको भनाई छ ।
गाउँपालिकाले निकै सुज्बुज पूर्ण तरिकाले गरिएको राहत सहयोगमा गाउँपालिका भित्रका सबै तहका शिक्षक, श्रेणीविहीन कर्मचारीहरू, विद्यालयहरूमा कार्यरत कार्यालय सहयोगी देखि बाल सहायक र लेखा कर्मचारी समेतबाट २ दिनको तलब बराबर हुन आउने रकम रु १ लाख ३१ हजार ७ सय असी रुपैयाँ सहित एकमुष्ट रु २२ लाख छ हजार ५ सय ७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने गाउँपालिका अध्यक्ष खड्का र प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले हस्ताक्षर गरी सार्वजनिक गरिएको पत्रमा उल्लेख छ ।
देशको इतिहासमै सबै भन्दा भीषण बाढीको रूपमा विश्लेषण भइरहेको रसुवा बाढीमा आफ्नो गाउँपालिका भित्रका नागरिक समेत प्रभावित भएपछि गोकुलगंगा गाउँपालिकाले बाढीमा परी बेपत्ता आफ्ना नागरिकको खोजी कार्यलाई सहज बनाउँदै बेपत्ता पीडित परिवारलाई तत्काल खोजी तथा उद्धार गर्न २५ हजार रुपैयाँ खर्च उपलब्ध गराउने अध्यक्ष खड्काको भनाई छ ।
बाढी गएको ७ दिन सम्मको प्राप्त विवरण अनुसार रसुवा बाढीमा परी गोकुलगंगा गाउँपालिका भित्रका ईश्वरी बहादुर खड्का (कुमार), ली बहादुर वि।क। (राजु), सुरज श्रेष्ठ सम्पर्क बिहिन् छन् । उनीहरू सबै गाउँपालिकाको वडा नं ४ बेताली निवासी हुन् ।

त्यस्तै वडा नं ३, रस्नालु निवासी सम्राट शेर्पा प्रहरीमा कार्यरत पनि बेपत्ताको सूचीमा छन् । यसरी बेपत्ता आफ्ना नागरिकसहित रसुवा बाढी प्रभावित सबै नागरिकको उद्दारमा सहयोग पुर्याउन गाउँपालिकाले सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ । प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सबै तहका सरकार, सुरक्षा निकाय, सञ्चार जगत् र नागरिक समाजलाई एकीकृत रूपमा राहत, उद्धार र पुनः स्थापनामा जुट्न अपिल गर्दै गोकुलगंगा गाउँपालिका आफ्नो तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्ध समेत व्यक्त गरेको छ ।
विनाशकारी बाढीका कारण ठुलो संख्यामा जनधनको क्षति भएको खबरले अत्यन्त मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै भीषण प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएका सबै नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको शीघ्र खोज तथा उद्धार गर्न सबै सँग अपिल गरेको छ ।
रसुवा बाढीमा परी बुधबार सम्म ३६ जना सम्पर्कमा आएका छन् भने ४४ जना सम्पर्कमा आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
