मन्त्रीको स्वागतमा राप्रपाको चलाखी, सरकारी कार्यक्रम ओझेलमा : समन्वयको अभाव कि कार्यक्रम ‘हाइज्याक’ ?

राप्रपाका नेता–कार्यकर्ताको सानो असावधानीले सरकारी कार्यालयको तयारी ओझेलमा, आफ्नै पार्टी कार्यालय छाडेर सरकारी कार्यालयमा स्वागतको तामझाम, रास्वपा पनि अछुतो छैन

| मंसिर ६, २०८३ आइतबार

A A A
A A A

०६ मंसिर, रामेछाप । बागमती प्रदेश सरकारका दुई मन्त्री शनिवार मन्थली आइपुग्दा स्वागतको दृश्य केही फरक देखियो । स्वागतका लागि सरकारी कार्यालयले छुट्टै तयारी गरेको थियो भने मन्त्रीकै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता–कार्यकर्ता पनि खादा र माला बोकेर स्वागतमा तम्तयार थिए । तर, सरकारी कार्यालय र पार्टीबिचको सामान्य समन्वयसमेत मिल्न नसक्दा मन्त्रीको स्वागत कार्यक्रम केही बेर अन्योलपूर्ण मात्र बनेन, सरकारी कार्यालयको पूर्वनिर्धारित कार्यक्रम नै पार्टीगत गतिविधिको छायामा परेको देखियो ।

 

आइतबार दोलखामा हुने कार्यक्रममा सहभागी हुन शनिवार सिन्धुली हुँदै रामेछाप आएका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री राजु विष्ट र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति मन्थली आइपुगेका थिए । उनीहरूसँगै स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ पनि सिन्धुलीको कार्यक्रममा सहभागी थिए । तर, विशेष कारणले तामाङ भने सिन्धुलीबाटै फर्किएको बताइयो । मन्त्रीहरू मन्थली हुँदै दोलखा जाने जानकारी पाएपछि उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछाप बिहानैदेखि स्वागत तथा भेटघाटको तयारीमा जुटेको थियो । कार्यालयले मन्त्रीद्वयलाई स्वागत गर्नुका साथै जिल्लाका सरोकारवाला निकायसँग अन्तरक्रिया र भेटघाट गर्ने कार्यक्रमसमेत तय गरेको थियो ।

 

उता, राप्रपाबाट मन्त्री बनेका दुई मन्त्रीसँगै प्रदेश संसदीय दलका नेता उद्धव थापासहितको टोली मन्थली आउने खबर पाएपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्ता पनि स्वागतका लागि तयारीमा थिए । दिउँसो २ बजेदेखि नै खादा र माला लिएर पार्टी कार्यालय अगाडि कुरिरहेका कार्यकर्ता मन्त्री आउने समय नजिकिएपछि सरकारी कार्यालय उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयमै पुगे ।

यहाँसम्मको दृश्यलाई सामान्य राजनीतिक सक्रियता र स्वागतको तयारीका रूपमा लिन सकिएला । तर, प्रश्न त्यति बेला उठ्यो, जब आफ्नै पार्टीका मन्त्री र संसदीय दलका नेता स्वागतका लागि आउँदा बाटैमा पर्ने जिल्ला अदालत अगाडिको पार्टी कार्यालयलाई नै राप्रपाका नेता–कार्यकर्ताले उपयोग गर्न सकेनन् । आफ्नै पार्टी कार्यालयमा मन्त्रीलाई स्वागत गर्ने वा कम्तीमा केही समयका लागि त्यहाँ पुर्‍याउने सामान्य व्यवस्थापनसमेत हुन सकेन । बरु पार्टी कार्यालय अगाडि स्वागतका लागि कुरिरहेका कार्यकर्ता सरकारी कार्यालयमा जम्मा भए ।

 

यसले एउटा सामान्य प्रश्न जन्माएको छ पार्टीका मन्त्रीको स्वागत पार्टी कार्यालयमा गर्ने कि सरकारी कार्यालयमा ? पार्टीगत स्वागत र सरकारी कार्यालयको औपचारिक कार्यक्रमबिचको सीमा र समन्वयमा ध्यान नदिँदा सरकारी कार्यालयको तयारी नै ओझेलमा परेको देखियो ।

 

मन्त्री हलभित्र, कार्यकर्ता बाहिर

शनिवार अपराह्न करिब ४:३० बजे मन्त्री विष्ट र प्रजापतिसहित राप्रपा प्रदेश संसदीय दलका नेता थापाको टोली मन्थली आइपुग्यो । मन्त्री विष्ट केही समयअघि नै कार्यालयको हलमा पुगेर बसेका थिए । बाहिर भने पार्टीका नेता–कार्यकर्ता मन्त्री प्रजापतिको स्वागतका लागि प्रतीक्षारत थिए ।

रोचक पक्ष के रह्यो भने खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री विष्ट आफ्नै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयसँगको भेटघाट वा निरीक्षणमा भन्दा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयको हलमा प्रतीक्षारत देखिए । मन्त्री प्रजापति केही समयपछि आइपुगे । त्यसपछि कार्यालय निरीक्षण गरेर उनी पनि हलमा पुगे ।

 

सरकारी कार्यक्रम कि पार्टीको कार्यक्रम ?

मन्त्रीद्वय आउने भएपछि कार्यालयले जिल्लाका सरोकारवालालाई समेत निमन्त्रणा गरेर अन्तरक्रिया तथा भेटघाटको विशेष तयारी गरेको थियो । तर, कार्यालयको तयारी अनुसार कार्यक्रम अघि बढ्न नपाउँदै राप्रपाका नेता–कार्यकर्ताले आफ्नै ढंगले कार्यक्रम सञ्चालन गर्न सुरु गरी हाले । दृश्य हेर्दा सरकारी कार्यालयले आयोजना गरेको कार्यक्रमभन्दा पार्टीले आयोजना गरेको स्वागत कार्यक्रम बढी हाबी भएको देखिन्थ्यो ।

कार्यालय प्रमुख खेमराज घिमिरेले मन्त्रीद्वयको स्वागत मन्तव्य राख्न खोज्दा राप्रपाका कार्यक्रम सञ्चालकले पार्टीगत कार्यक्रम अघि बढाउन थालेपछि उनले हस्तक्षेप गर्नुपर्‍यो । ‘एकै छिन हजुर, म मन्त्रीज्यूहरूलाई स्वागत गर्छु,’ भन्दै कार्यालय प्रमुख घिमिरेले कार्यक्रम सञ्चालकलाई पटक–पटक रोक्नुपर्‍यो । कार्यालयले आफ्नै तर्फबाट गरेको तयारी र कार्यक्रमको मर्यादाअनुसार अघि बढ्न खोज्दा समेत पटक–पटक हस्तक्षेप गर्नुपर्ने अवस्था आयो ।

 

रास्वपाका कार्यकर्ताले सरकारी कर्मचारीमाथि हप्कीदप्की गरेको भन्दै कर्मचारी तहबाटै असन्तुष्टि व्यक्त भएको चर्चा

 

कार्यालय प्रमुखले स्वागत मन्तव्य राख्न त भ्याए, तर कार्यालयले तय गरेको कार्यक्रमको मूल उद्देश्य र कार्य तालिका भने प्रभावित भएको देखियो । सरकारी कार्यालयको औपचारिक कार्यक्रमभित्र पार्टीगत गतिविधि मिसिँदा समन्वयको अभाव स्पष्ट देखियो ।

 

सरकारी कार्यालयमा राजनीतिक दलका गतिविधि हाबी भएको वा सरकारी कार्यक्रमभित्र दलगत गतिविधि मिसिएको भन्दै रामेछापमा प्रश्न उठेको यो पहिलो घटना भने होइन । यसअघि पनि जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा भएको एक कार्यक्रमलाई लिएर यस्तै विवाद सार्वजनिक भएको थियो ।

११  साउन, २०८३ मा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा सांसद डा. कृष्णहरि बुढाथोकीको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रम। तस्बिर अर्काइभ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय रामेछापमा सरकारी कार्यालयका प्रमुख र रास्वपाका कार्यकर्ताबिच छलफल तथा अन्तरक्रिया भएको विषयले त्यति बेला चर्चा पाएको थियो । सरकारी कार्यालयको आयोजनामा राजनीतिक दलका कार्यकर्ताको भेला गरिएको भन्दै उक्त कार्यक्रमको चर्को आलोचना भएको थियो ।

 

त्यतिमै सीमित नरही कार्यक्रममा सहभागी रास्वपाका कार्यकर्ताले सरकारी कर्मचारीमाथि हप्कीदप्की गरेको भन्दै कर्मचारी तहबाटै असन्तुष्टि व्यक्त भएको चर्चा चलेको थियो । सरकारी कार्यालयका प्रमुखहरूसँगको छलफललाई दलगत गतिविधिको स्वरूप दिइएको भन्दै प्रश्न उठेपछि उक्त कार्यक्रम विवादमा तानिएको थियो । यस विषयमा नेपाली काँग्रेस रामेछापका जिल्ला उपसभापति लेखबहादुर कार्कीले २०८३ साउन ११ गते सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ‘सरकारी आयोजनामा रास्वपाको कार्यकर्ता भेला’ सम्पन्न भएको भनी आलोचना गरेका थिए ।

 

यसरी हेर्दा सरकारी कार्यालय र राजनीतिक दलका गतिविधिबिचको सीमा, कार्यक्रमको स्वामित्व र संस्थागत मर्यादाको विषय रामेछापमा पटक–पटक उठ्दै आएको देखिन्छ । हिजो रास्वपाको कार्यक्रमलाई लिएर उठेको प्रश्न आज राप्रपाका मन्त्रीको स्वागतका क्रममा फेरि दोहोरिएको छ । पात्र र पार्टी फरक भए पनि प्रश्न भने उस्तै छ– सरकारी कार्यालयको कार्यक्रमलाई राजनीतिक दलले आफ्नो गतिविधिसँग कसरी जोड्ने ?

राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफ्ना जनप्रतिनिधि वा मन्त्रीसँग भेटघाट र स्वागत गर्नु स्वाभाविक हो । तर त्यसका नाममा सरकारी कार्यालयको पूर्वनिर्धारित कार्यक्रम, कर्मचारीको भूमिका र संस्थागत मर्यादा ओझेलमा पर्नु उपयुक्त होइन । सरकारी कार्यालय कुनै पनि दलको पार्टी कार्यालय होइनन् । त्यहाँ हुने कार्यक्रमको उद्देश्य, सञ्चालन र मर्यादा सरकारी संस्थाको गरिमाअनुसार कायम हुनुपर्छ ।

मन्थलीको पछिल्लो घटनाले पनि यही सन्देश दिएको छ– राजनीतिक दलहरूबिच प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि सरकारी संरचना र कार्यक्रमलाई दलगत गतिविधिसँग मिसाउने प्रवृत्तिमा भने सबै पक्ष सचेत हुन आवश्यक छ । अन्यथा, मन्त्रीको स्वागत गर्ने उत्साहमै सरकारी कार्यालयको कार्यक्रम नै ओझेलमा पर्ने अवस्था दोहोरिइरहनेछ ।

 

साना कुरामा ध्यान नदिँदा ठुलो असहजता

यो घटनालाई हेर्दा राप्रपाका नेता–कार्यकर्ताले मन्त्रीको स्वागतमा देखाएको सक्रियता सकारात्मक भए पनि त्यसको व्यवस्थापनमा भने पर्याप्त ध्यान दिएको देखिएन । आफ्नै पार्टी कार्यालयमा स्वागतको सामान्य व्यवस्था मिलाउन सकिन्थ्यो । सरकारी कार्यालयले गरेको औपचारिक कार्यक्रमलाई प्राथमिकता दिँदै पार्टीगत स्वागतलाई छुट्टै र व्यवस्थित बनाउन सकिन्थ्यो । कम्तीमा कार्यक्रम सञ्चालक र कार्यालय प्रमुखबिच पहिले नै सामान्य समन्वय भएको भए यस्तो असहज अवस्था आउने थिएन ।

 

सरकारी कार्यालयले मन्त्रीलाई स्वागत गर्ने, आफ्नो कार्यक्षेत्रका गतिविधिबारे जानकारी गराउने र सरोकारवालासँग भेटघाट गराउने तयारी गर्नु स्वाभाविक हो । त्यस्तै, मन्त्री आफ्नै पार्टीका भएकाले पार्टीका नेता–कार्यकर्ताले स्वागत गर्न खोज्नु पनि अस्वाभाविक होइन । तर, यी दुई फरक प्रकृतिका कार्यक्रमलाई एउटै ठाउँमा सञ्चालन गर्दा कसले कुन कार्यक्रम सञ्चालन गर्ने, कसले पहिले बोल्ने र कार्यक्रमको मर्यादा कसरी कायम गर्ने भन्ने सामान्य विषयमा समेत समन्वय नहुनु भने व्यवस्थापकीय कमजोरी हो ।

मन्त्रीको स्वागतमा खादा र माला तयार पार्नु मात्रै पर्याप्त हुँदैन । कार्यक्रम स्थल, स्वागतको क्रम, औपचारिकता र आयोजकको भूमिकाजस्ता साना देखिने विषयले नै कार्यक्रमको गरिमा निर्धारण गर्छन् ।

 

मन्थलीमा शनिवार देखिएको दृश्यले राप्रपाका नेता–कार्यकर्ता र उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयबिच सहकार्य र समन्वयको खाँचो मात्र देखाएन, सरकारी कार्यालयको कार्यक्रममाथि पार्टीगत गतिविधि हाबी हुँदा कस्तो असहज अवस्था सिर्जना हुन सक्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्‍यो ।

 

आखिर मन्त्रीको स्वागत गर्ने उत्साहमा आफ्नै पार्टी कार्यालय बिर्सनु र सरकारी कार्यालयको कार्यक्रम सञ्चालनमा समेत हस्तक्षेप हुने अवस्था आउनु आवश्यक थियो र ? सामान्य समन्वय र व्यवस्थापनमा ध्यान दिएको भए न पार्टीको स्वागत कमजोर देखिन्थ्यो, न सरकारी कार्यालयको तयारी नै ओझेलमा पर्थ्यो ।