झण्डै २ महिनापछि रामेछापले ‘सिडिओ’ पायो, आउने भइन् गीता कुमारी होमेगाई
नागरिक तहमा प्रश्न र प्रशंसा दुबै
१२ मंसिर, रामेछाप । प्रमुख जिल्ला अधिकारी विहीन रहेको रामेछापमा झण्डै २ महिना पछि महिला (सिडिओ) प्रमुख जिल्ला अधिकारी आउने भएकी छन् । यस अगाडि पनि महिला सिडिओ करिब तीन महिना नपुग्दै सरुवा भएर गएपछि जिल्ला प्रमुख जिल्ला अधिकारी विहीन बनेको थियो ।
२ महिना देखि जिल्लामा (सिडिओ) नभएपछि जिल्लाका नागरिकहरूले सामाजिक सञ्जाल मार्फत सत्ताको नेतृत्व गरिरहेको दल (रास्वपा) विरुद्ध व्यङ्ग्यात्मक प्रश्न मात्रै गरेनन् ‘कर्मचारी व्यवस्थापनमा चुकेको भन्दै खरो प्रश्न उठाए’ । सामाजिक सञ्जालमा प्रश्न र गुनासो व्यापक आएपछि जवाफै दिनु पर्ने अवस्थामा पुगेका सांसद डा.कृष्णहरि बुढाथोकीले गृह मन्त्रालय गुहारेको जवाफ दिएका छन् ।
१६ असोज, २०८३ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिनु बज्राचार्य कुँवर गृह मन्त्रालयमा तानिएपछि निमित्त प्रमुख जिल्ला अधिकारीको भरमै जिल्ला सञ्चालन हुँदै आएको थियो । (सिडिओ) विहीन भएको दुई महिना बित्न लाग्दै गृह मन्त्रालयले शुक्रवार ९ जना (रा.प.प्रथम श्रेणीका कर्मचारी) हरुको सरुवा गर्दै सहसचिव गीता कुमारी होमेगाईलाई रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाएको हो ।
लामो समय (सिडिओ) नहुँदा जटिल प्रकारका ‘फाइलहरू’ रोकिएर सेवाग्राहीले सास्ती खेप्नु पर्ने आशंका बढ्दा नागरिक तहमा प्रश्न उठ्दै आएको थियो । यद्यपि दुई महिना देखि निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर केसीले सहजीकरण गर्दा नागरिकहरूले दुःख नपाएको धारणा राख्दै आएको पाइन्छ ।
दसैँ, तिहार र छठ जस्ता मुख्य चाड पर्वको समयमा निमित्त (सिडिओ) कै जिम्मेवारीमा पनि कुशल व्यवस्थापन गरिएको भन्दै कर्मचारीहरूको प्रशंसा भइरहेको छ । तर, प्राविधिक कारण (सिडिओ) को काम निमित्तबाट कार्यान्वयन नहुने झन्झटले भने केही असहजता भएको नागरिक तहको धारणा छ ।
