कात्तिक १० देखि भुजी लिग सुरु हुँदै, सबै मिलेर सफल पार्न’ युवा नेता सुनुवारको अपिल
फाइल फोटो ।
१९ असोज, रामेछाप । रामेछापको भूजीमा आउँदो कात्तिक १० गते देखि १५ गते सम्म ‘भूजी लिग–२०८३’ सुरु हुने भएको छ । गत वर्ष जस्तै यो वर्ष पनि फुटबल प्रेमीहरूका लागि खेल खुल्ला पुरुष फुटबल खेल हुन लागेको आयोजकले जनाएको हो ।
उमाकुण्ड गाउँपालिका वडा नं ७, भूजी स्थित अमृत घाम छाया फुटबल मैदानमा प्रथम पुरस्कार १ लाख ४८ हजार ८ सय २८ रुपैयाँ रहेको फुटबल खेल आयोजना गरिएको फुटबल क्लब भुजीले जानकारी दिएको हो ।
नेपालीहरूको महान् चाड बढा दशैको अवसर पारेर युवा पुस्तालाई खेलकुदमा जोड्दै स्वास्थ्य, अनुशासन, आपसी भाइचारा र आन्तरिक पर्यटकहरूको चहलपहल वृद्धि गर्ने उद्देश्यले प्रतियोगिताहरू प्रत्येक वर्ष गरिँदै आएको छ । यो क्लबले गर्ने फुटबल खेलको लागि गाउँपालिकाले समेत बजेट विनियोजन गरी क्लबलाई आर्थिक सहयोग गर्दै आएको छ ।
दसैँ तिहारको बिच हुने प्रतियोगितामा सहभागी हुनको लागि टिम दर्ताका लागि आह्वान गरिएको छ। खेलमा उपविजेता हुने टिमले नगद ७४ हजार ८ सय २८ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, खेलमा सेमिफाइनलमा प्रवेश गर्ने टिमले समेत नगद १८ हजार २ सय २८ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको हो ।
त्यस्तै विधागत तर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, सर्वाधिक गोल कर्ता र सर्वोत्कृष्ट खेलाडी ट्रफिसहित पुरस्कृत हुने छन् । महान् चाड पर्वको बिचमा हुने प्रतियोगितामा विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जनाएको हो ।

आफूहरू खेलमा सहभागी भएर भुजी क्लबले गर्दै आएको फुटबल खेललाई थप प्रोत्साहित र सफल पार्न लागेको लिखु भुजी रामेछाप युवा क्लबका कोषाध्यक्ष रजिन सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले खेलकुदमार्फत युवाहरूलाई सक्रिय बनाउनुका साथै सुनुवार समुदायबिचको एकता, प्रतिभा र खेल संस्कृतिलाई थप मजबुत बनाउन आफूहरू लागि परेको जानकारी दिए ।
चाड पर्व नजिकिएसँगै जिल्ला भित्र हुने भलिबल तथा फुटबल खेल गराउने तयार बढ्दै गएको छ । युवा नेता सुनुवारले सबै खेलहरूलाई साथ दिएर सफल पार्नु पर्नेमा जोड् दिए ।
