काँग्रेस रामेछापमा अधिवेशनबारे भ्रम फैलिएको भन्दै उपसभापति कार्कीको अपिल : ‘पार्टीको आधिकारिक प्रक्रिया बाहिरका गतिविधिमा सहभागी नहुनु’
०९ मंसिर, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति तथा महाधिवेशन प्रतिनिधि लेखबहादुर कार्कीले पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत जिल्लामा सम्पन्न अधिवेशनबारे भ्रम र अन्योल सिर्जना नगर्न नेता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । उनले पार्टीको आधिकारिक प्रक्रिया बाहिरका गतिविधिमा सहभागी हुन नेता कार्यकर्तालाई प्रस्ट निर्देशन गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालबाट निर्देशन जारी गर्दै उपसभापति कार्कीले जिल्लाका ६४ वटै वडाको अधिवेशन गएको असोज ३ र ४ गते, ८ वटै पालिकाको अधिवेशन असोज ७ गते तथा २ वटै प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १७ गते सम्पन्न भइसकेको स्मरण गराएका छन् । आगामी पुसमा हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेद्वार समेत घोषणा गरी सकेका कार्कीले एउटै पार्टीको दुई वटा अधिवेशन नहुने प्रस्ट्याउँदै सहभागी नहुने निर्देशन गरेका हुन् । उनले लेखेका छन् ‘सबै साथीहरूले स्पष्टसँग बुझ्न र बुझाउन आवश्यक छ कि अहिले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत रामेछाप जिल्लामा वडा, पालिका वा प्रदेशसभा क्षेत्रीय तहका कुनै पनि अधिवेशन हुन बाँकी छैनन् ।’
पार्टीको नाम प्रयोग गरी आधिकारिक निर्णय र प्रक्रियाबाहिर रहेर आयोजना गरिने अधिवेशन, भेला तथा कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएमा सचेत रहन समेत उनले अपिल गरेका छन् । ‘पार्टीको आधिकारिक निर्णय, निर्देशन र सूचनालाई आधार मानेर अघि बढ्नुपर्छ’ कार्कीको अपिलमा उल्लेख छ। उनले व्यक्तिगत स्वार्थ, गुटगत सोच र अनधिकृत गतिविधिले पार्टीभित्र भ्रम, अन्योल र विभाजन सिर्जना गर्ने भन्दै सबै नेता तथा कार्यकर्तालाई अनुशासन र एकता कायम राख्न आग्रह गरेका छन्।
नेपाली काँग्रेस कमजोर हुनु भनेको लोकतान्त्रिक शक्ति कमजोर हुनु र लोकतन्त्र कमजोर हुनु भनेको देश कमजोर हुनु भएको उल्लेख गर्दै कार्कीले आपसी सद्भाव, सहकार्य र एकताका माध्यमबाट पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
जिल्लामा यही मंसिर १४ गते नेपाली कांग्रेस संस्थापन इत्तर पक्ष (देउवा) समूहले नियमति १५ औं जिल्ला अधिवेशन गर्ने भन्दै गतिविधि अगाडि बढाएपछि उपसभापति कार्कीको यस्तो निर्देशन आएको हो ।
यो हेर्नुहोस् कार्कीको निर्देशन जस्ताको तस्तै
