मन्थलीमा ४४ जना बालबालिका जोखिममा रहेको गैरसरकारी संस्थाको तथ्याङ्क सार्वजनिक, विश्वसनीयतामाथि जनप्रतिनिधिले उठाए यस्तो गम्भीर प्रश्न ?

| मंसिर ९, २०८३ बुधबार

A A A
A A A

०९ मंसिर, रामेछाप । जिल्लामा जोखिममा रहेका र हुने सक्ने बालबालिकाको संरक्षण, उद्धार तथा पुनः स्थापनाका लागि आठ वटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसहित सरोकारवालाहरूको संयुक्त सहभागितामा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा चर्काचर्की परेको छ । सोमबार मन्थली नगरपालिकाको बैठक हलमा भएको ‘महत्त्वपूर्ण छलफलमा’ आयोजकले सार्वजनिक गरेको विवरण/तथ्याङ्कलाई लिएर व्यापक असन्तुष्टि देखिएको हो ।  

 

सृजनशील युवा समाज, चाइल्ड नेटवर्क तथा जिल्लाका आठ वटै स्थानीय तहको सहकार्यमा संचालन हुन लागेको ‘३५ महिने’ परियोजनाले परिवारबाट छुटेका, विपद्मा परेका तथा विभिन्न जोखिममा रहेका र हुन सक्ने बालबालिकाको संरक्षणका लागि बनाएको योजना अपुरो र कमजोर देखिएपछि सहकार्यकर्ताहरू नै असन्तुष्ट बनेका हुन् ।बैठकमा परियोजना बारेमा जानकारी गराउने भन्दै परियोजनाको तर्फबाट प्रारम्भिक कार्य सुरुवात गर्दाको अवस्थामै १४ वटा वडा रहेको मन्थली नगरपालिका भित्रै ४४ जना बालबालिका जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरिएपछि जनप्रतिनिधिले प्रश्न मात्रै गरेनन् त्यसको विश्वासिलो प्रमाण पेस गर्न परियोजनालाई चुनौती दिए । 

 

बालमैत्री नगरपालिका घोषणा भएको यो नगरमा बालबालिकाको क्षेत्रमा विभिन्न कार्य चरणबद्ध रूपमा अगाडि बढी रहेको अवस्थामा परियोजनाले विस्तृत अध्ययन र छलफल नगरी आफ्नो दायरा भित्रै नपर्ने बालबालिकाको नाम जोखिममा समावेश गरी तथ्याङ्क देखाएपछि जनप्रतिनिधि रुष्ट देखिए । उक्त तथ्याङ्कको आधार र प्रमाणबारे जनप्रतिनिधिहरूले प्रश्न उठाउँदै विवरण पुष्टि गर्ने आधार प्रस्तुत गर्न माग गरेका छन्।

‘४४ जना कस्ता बालबालिका जोखिममा परेका छन्, उनीहरूको अवस्था के छ र के गर्नु पर्ने हो त्यो विषयमा ध्यान केन्द्रित गर्नु पर्छ’, परियोजनालाई प्रश्न गर्दै रामेछाप नगरपालिकाकी उपप्रमुख बाल कुमारी कार्की (थापा) भनिन् । उनले तथ्याङ्क हचुवाको भरमा आउनु दुखद भन्दै भनिन् ‘यो नगर बालमैत्री हो, स्थानीय तहहरूले पनि बालबालिकालाई संरक्षण गर्न विगत देखि काम गर्दै आएका छौँ’ । 

 

बालबालिकाको संरक्षण घरपरिवार, समाज र हामी सबैको दायित्व रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले जोखिममा रहेको पाइएमा मात्रै पनि तत्काल समाधान गर्नु पर्नेमा जोड् दिए । परियोजनाले निश्चित समय काम गरेर स्थानीय सरकारलाई जिम्मेवारी दिए पछि नहट्ने बताउँदै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले परियोजना मार्फत आवश्यक कार्यक्रम तथा गतिविधि सञ्चालन गर्न आग्रह गरे । 

करिब ६ करोड लागत रकम खर्च गरेर बालबालिकाको संरक्षणमा काम गर्ने बताइएको यो परियोजनाले ‘आमाबाबु विहीन, हाडनाताबाट जन्मिएको, प्राकृतिक प्रकोपले सिर्जना गर्ने विपद्बाट अनाथ हुन सक्ने वा बेवारिसे बालबालिकाको’ संरक्षण गर्नको लागि काम गर्नु पर्ने पछिल्लो जिल्ला सभाबाट कार्यविधि बनाइ पारित गरिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले जानकारी गराए । यसरी नीति, नियमले समेट्ने बालबालिकाको संरक्षणमा काम गर्नु पर्ने मेयर श्रेष्ठको आग्रह छ । 

 

खाँडादेवी गाउँपालिका बाहेक सबै स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको छलफलमा परियोजनाले सबै ठाउँका बालबालिकाको संरक्षण सहित पुनर्मिलनमा समेत काम गर्नु पर्ने जनप्रतिनिधिको साझा धारणा देखियो ।