मन्थली नगरपालिका र सुनापति गाउँपालिका उत्कृष्ट बने उत्कृष्ट, भू–उपयोग वर्गीकरण र १०८ लहरेमानेको चर्चा
०९ भदौं, रामेछाप । जिल्ला समन्वय समिति रामेछापले दुई वटा स्थानीय तहलाई सम्मान गरेको छ । आठ वटा स्थानीय तह रहेको रामेछापमा छुट्टा छुट्टै विधामा नमूना काम गरी असल अभ्यासको थालनी गरेको भन्दै प्रमाण पत्रसहित जिल्ला सदरमुकाम मन्थली नगरपालिका र सुनापति गाउँपालिकालाई सम्मान प्रदान गरेको हो ।
मंगलबार देखि सुरु भएको दुई दिने गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर समन्वय समिति रामेछापले गत वर्ष जस्तै यो वर्ष पनि सम्मानलाई निरन्तरता दिएको हो । गत वर्ष पनि सम्मानित हुन सफल भएको मन्थली नगरपालिका यो वर्ष ‘भू–उपयोग वर्गीकरण तथा कार्यान्वयन’ सम्बन्धी असल अभ्यासको सफलतापूर्वक सञ्चालन गरेको र सुनापति गाउँपालिकाले पालिकालाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउँदै लैजान सफल ‘सुनापति पर्यटन विकासका लागि धार्मिक पर्यटन पूर्वाधार: १०८ लहरेमाने निर्माण तथा शिव मन्दिर निर्माण’ सफल कार्यान्वयन गर्न सकेकोमा प्रशंसा गर्दै पुरस्कृत गरेको जिल्ला समन्वय अधिकारी डिक बहादुर कार्कीले उद्घोष गरे ।

सम्मानित दुवै स्थानीय तहलाई सांसद एवं अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकी र समन्वय प्रमुख चिना खड्का कार्कीले संयुक्त रूपमा प्रमाण पत्र प्रदान गरेका हुन् । सम्मानित भएका दुवै स्थानीय तह गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमहरू जिल्लास्तरबाट छनोट भई बागमती प्रदेशस्तरीय प्रस्तुतीकरणका छनोटमा परी उत्कृष्टता हासिल गर्न सफल भएका थिए ।
जिल्ला समन्वय समिति रामेछापको सभा हलमा भोलि सम्म चल्ने गत वर्ष २०८२/०को वार्षिक समीक्षा एवं असल अभ्यास आदान प्रदान कार्यक्रममा जिल्लास्थित संघिय, प्रादेशिक र स्थानीय तहहरूको सहभागी रहेको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमको समेत चर्चा चलिरहेको समीक्षा कार्यक्रममा जिल्लाका ८ वटै पालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, संघिय र प्रादेशिक कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको छ ।

