नेपाली काँग्रेस प्रदेश सभा कः जनजाति कलस्टरको निर्वाचन विधान अनुसार गर्नु पर्ने मागसहित निवेदन दर्ता
१९ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा ‘क’ को अधिवेशन विधान अनुसार गरी पाउँ भन्दै निवेदन दर्ता गरिएको छ । मत गणना जारी रहेकै बेला प्रदेश सभा (क) का तर्फ समानुपातिक आदिवासी जनजाति खुल्ला तर्फका उम्मेद्वार सरोज श्रेष्ठले निवेदन दर्ता गराएका हुन् ।
१५ औँ महाधिवेशन अन्तर्गत गएको १३ गते भएको मतदानको मत पत्रमा ‘समानुपातिक आदिवासी जनजाति (खुल्ला–२ उल्लेख गरी मतदान भएकोमा विधानमा उल्लेख भए जस्तै १ महिला सहित ३ जना निर्वाचित हुने व्यवस्था अनुसार निर्वाचन गरिनु पर्ने भन्दै उम्मेद्वारहरुले निवेदन दिएपछि उक्त कलस्टरको मतगणना स्थगित भएको छ ।
नेपाली काँग्रेसको जिल्ला निर्वाचन समितिले मतदान भइसकेको उक्त कलस्टरको मत गणना प्राविधिक त्रुटि भएको भन्दै समावेश नगरेको जनाएको छ । प्रदेश सभा (क) तर्फ उक्त कोटामा अनन्त पुलामी, अनिल तामाङ, उपेश श्रेष्ठ, कृष्ण बहादुर गुरुङ (केबी), चन्द्र बहादुर प्रधान, बलराम श्रेष्ठ र सरोज श्रेष्ठले उम्मेदवारी दिएका थिए । तीन जना निर्वाचित हुने विधानको व्यवस्था विपरीत मत पत्रमा कोटा उल्लेख भएको पाइएपछि उनीहरू निवेदन दिएर पुनः विधान अनुसार निर्वाचन गराउनु पर्ने माग गरेका हुन् ।
काँग्रेस रामेछापले १५ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधि ३३ जनासहित दुवै प्रदेश सभा तर्फको अन्य पदका लागि भएको निर्वाचन भने सम्पन्न गराइसकेको छ ।
यस अघि पनि प्रदेश सभा क तर्फ कै खुल्ला तर्फका उम्मेद्वार कृष्ण कुमार कार्कीले आफ्नो मत भन्दा कम मत प्राप्त गरेका प्रतिस्पर्धीलाई निर्वाचित गरी आफूलाई पराजित गरिएको भन्दै असन्तुष्टि जनाएर निवेदन हालेका छन् । उनले पुनः मत गणना हुनु पर्ने भन्दै निवेदन दर्ता गरे पनि मत गणना भने भएन ।

