रामेछापमा शव बोकेको एम्बुलेन्स दुर्घटना : तीन जना घाइते, दुई जनालाई धुलिखेल लगियो

शवसहितको एम्बुलेन्स १०० मिटर तल खस्यो

| जेठ ९, २०८२ बिहिबार

A A A
A A A

०८ जेठ, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडक खण्डमा आज बिहान एम्बुलेन्स दुर्घटना भएको छ। दोरम्बा शैलुङ् गाउँपालिकाबाट शव लिएर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा एम्बुलेन्समा सवार ४ जना मध्ये तीन जना घाइते भएका छन् ।

 

दुर्घटनामा दोरम्बा शैलुङ गाउँपालिका–३ का एम्बुलेन्स चालक २४ वर्षीय सुरेश मगरको दुवै हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको अवस्था सामान्य रहेको र हाल स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

 

त्यस्तै, सोही दुर्घटनामा दोरम्बा शैलुङ गाउँपालिका–२ निवासी ४१ वर्षीय नारायणबहादुर नेपालीको ढाड र टाउकोमा चोट लागि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा छन् । उनलाई धुलिखेल अस्पताल, काभ्रेमा उपचारका लागि पठाइएको छ।

 

 

त्यस्तै, दोरम्बा शैलुङ गाउँपालिका–२ निवासी ५३ वर्षीय दिल बहादुर दमाईको टाउको र ढाडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा छन् । उनलाई पनि धुलिखेल अस्पताल, काभ्रेमा उपचारका लागि पठाइएको छ।

 

दुर्घटनाको कारणबारे हाल अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मिलन घिमिरे (बि क)
| जेठ १४, २०८२ मंगलबार