रामेछापको दलेचौरमा मालवाहक गाडी दुर्घटना, चालक गम्भीर घाइते

| जेठ १०, २०८२ शुक्रबार

तस्बिर स्रोत मंगले थामी ।
A A A
A A A

९ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको साबिक वडा नं ८ दलेचौरमा मालवाहक गाडी दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । उनको धुलिखेलमा उपचार भइरहेको जानकारी प्राप्त भएको हो ।  गाडीमा चालक एक्लै रहेको बुझिएको छ ।

 

गए राति करिब ८ बजेको समयमा दोलखाको मेलुङ गाउँपालिकाबाट त्यहाँ गएको बा ४ ख ७२२६ नम्बरको मालवाहक गाडी सडकबाट करिब १८० मिटर तल पल्टिँदा चालक दोलखाको शैलुङ् गाउँपालिका ढुङ्गेका सुसन श्रेष्ठ गम्भीर रूपमा घाइते भएको स्थानीय मंगले थामीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

दोरम्बातर्फ जाँदै गर्दा ब्रेक फेल भएर गाडी पल्टिएको चालक श्रेष्ठले उद्दारको क्रममा बताएको स्थानीय थामीले जानकारी दिए । यद्दयपी गाडी के कारणले दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको छ । दुर्घटनामा परेको गाडी पूर्ण रूपमा क्षति ग्रस्त भएको छ । 

 

गाडी धनी समेत रहेको बुझिएका चालक श्रेष्ठलाई तत्काल उद्दार गरी धुलिखेल अस्पतालमा उपचारको लागि राति नै पठाइएको छ ।  प्रहरीका अनुसार अहिले उनको धुलिखेलमा उपचार जारी छ ।

बिहीवारै दोरम्बा शैलुङ् गाउँपालिकाबाटै बिरामी बोकेर काठमाडौं तर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका थिए । घाइतेको सबैलाई उद्दार गरी धुलिखेल अस्पतालै पठाइएको थियो । 

मिलन घिमिरे (बि क)
| जेठ १४, २०८२ मंगलबार