रामेछापमा ससुराले बुहारीको बीभत्स हत्या गरी प्रहरीमा आत्मसमर्पण गरे

०९ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिका–१२, गेलु सिक्रालमा एक दर्दनाक र अपत्यारिलो घटना घटेको छ । वृद्ध उमेरका ‘शम्भु’ भनिने मटक बहादुर बुढाथोकीले आफ्नै बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हत्याराले प्रहरी समक्ष आफैँ आत्म समर्पण समेत गरेका छन् ।
सोही वडा सचिव रामहरि अधिकारीका अनुसार ससुराले आफ्नै बुहारीको बीभत्स तरिकाले ज्यान लिएका हुन् । शुक्रवार करिब (अन्दाजी) ४ ः ३० बजेको समयमा बुढाथोकीले आफ्नै बुहारी अन्दाजी ३० वर्षीय पवित्र बुढाथोकीको विभत्सा हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका वडा सचिव अधिकारीले रामेछाप टाइम्ससंग बताए ।
नेपाली सेनामा कार्यरत रहँदा गएको साउन ३ गते काठमाडौँमा एक कोठाभित्र छोरा दीपेन्द्र बुढाथोकीले झुन्डिएर आत्महत्या गरेपछि बुहारी काठमाडौँ बस्दै आएकी थिइन् । यता गाउँमा नाति बाजे बस्दै आएको बुझिएको हो ।
मन्थली नगरपालिका कै वडा नं ११ गेलु माइती भएकी बुहारी नै छोराको आत्महत्याको कारण भएको आरोप लगाउँदै आएका ससुरा (छोराको बुबा) ले नाति समेतको ज्यान जोखिममा नपार्ने भन्दै नाति (नाम गोप्य) लाई बुहारिसंग नपठाउने अडान लिँदै आएका थिए । तर, पछिल्लो पटक जिल्ला अदालत रामेछापले बुहारीले आफ्नो छोरो साथ लान पाउने आदेश गरेपछि छोरो लिन ससुरा बसिरहेको घर पुगेकी उनीहरूबिच झगडा भएको हुन सक्ने स्रोतको दाबी छ ।
वडा सचिव अधिकारीले घटना प्रहरीलाई खबर गरिसकेको र घटनास्थलमा कोही पनि जान रोक लगाइएको बताए । ‘सबैलाई खबर गरेको छु । मृतकको हात शरीरबाट छुट्टिएको सम्म भन्ने जानकारी आएको छ।’
बुहारीको ज्यान गएपछि खिम्ती प्रहरी चौकी आएर ‘हत्यारा’ ले आत्म समर्पण गरेको जानकारी प्रहरीबाट आफूलाई आएको बताउँदै सचिव अधिकारीले भने ‘आत्महत्या गरी ज्यान गुमाएका दीपेन्द्रको राज्यले दिने पैसामा पनि पूरै हक दाबी गरेको र नाति समेत लान आएपछि हतियार प्रहार भएको हुन सक्छ ।’
गाउँमा नाति बाजे बस्दै आएको परिवारमा यस्तो बीभत्स हत्या भएपछि गेलु सिक्रालमा यति बेला सन्नाटा छाएको छ ।