रामेछापको मन्थलीमा सुरु भयो तीन दिने बागमती प्रदेश स्तरीय फोटो पत्रकारहरूको क्षमता विकास तालिम

| जेठ १६, २०८२ बिहिबार

A A A
A A A

१५ जेठ, रामेछाप । रामेछापको मन्थलीमा फोटो पत्रकारहरूको लागि तीन दिने ‘फोटो पत्रकारिता एवं क्षमता विकास’ तालिम सुरु भएको छ । बिहीबार देखि मन्थलीमा बागमती प्रदेशका १० जिल्लाबाट सहभागी फोटो पत्रकारहरूलाई उनीहरूको क्षमता विकास तालिम प्रारम्भ गरिएको हो । 

 

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल बागमती प्रदेश (एनएफपिजे) समितिको आयोजना र समूहको रामेछाप शाखाको सहजिकरणमा आवासीय तालिम संचाल गरिएको समूहका बागमती प्रदेश सचिव कुमार श्रेष्ठले बताए । 

 

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन गर्दै तालिमका प्रशिक्षक एवं राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तले फोटो पत्रकारहरूले व्यवसायीक फोटो पत्रकारिता आजको आवश्यकता रहेको धारणा राखे । विगतदेखि वर्तमान अवस्था सम्म आइपुग्दा फोटो पत्रकारिताको अवस्थाका बारेमा उल्लेख गर्दै अध्यक्ष वन्तले फोटो पत्रकारहरूले सक्षम भएर उत्कृष्ट तस्बिरहरू कैद गर्नु पर्नेमा जोड् दिए । फोटो पत्रकारले फोटो बाटै आम्दानीको स्रोतलाई व्यवस्थापन गर्न सक्नु पर्नेमा जोड् दिएका उनले मर्यादित र उत्तरदायित्व बोकेर फोटो पत्रकारिता गर्न सबैलाई आग्रह गरे । 

प्रदेशका कार्यवाहक अध्यक्ष राजेन्द्र गजुरेलको अध्यक्षतामा सुरु भएको तालिममा केन्द्रका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, कोषाध्यक्ष प्रदीप श्रेष्ठ र वरिष्ठ फोटो पत्रकार सुशील श्रेष्ठले प्रशिक्षण दिने कार्य तालिका रहेको प्रदेश का.बा अध्यक्ष गजुरेलले जानकारी दिए । 

 

तालिम उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, पूर्व अध्यक्षहरू हिमाल ढुङ्गेल, बद्री नयाँ घरेसहित (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायत नेपाल प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेसका प्रमुख तथा प्रतिनिधिहरू सँगै रामेछापका विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। 

 

व्यावसायिक फोटो पत्रकारितामा पछिल्लो समय चुनौतीसँगै अवसरहरू पनि बढिरहेकोमा जोड् दिएका वक्ताहरूले फोटो पत्रकारहरूले कैद गरेका तस्बिरहरूले समाचार र तथ्यलाई पुष्टि गरी ठुलो योगदान एवं सहयोगहरू भइरहेको उल्लेख गरे । 

 

फोटो पत्रकारहरूको पेसागत सीप अभिवृद्धि गर्नुका साथै डिजिटल युगमा आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको भन्दै प्रदेश काबा अध्यक्ष गजुरेलले (एनएफपिजे) अब चलायमान बन्दै गएको बताए । 

 

रामेछाप शाखाका अध्यक्ष मिलन घिमिरेले प्रशिक्षक, अतिथि, पत्रकार तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै तालिमको सफल सञ्चालन गर्दै उपलब्धि मूलक बनाउन सबैमा आग्रह गरे ।