सार्वजनिक यातायात हड्तालः सयौँ गाडी गाउँ–गाउँमै ‘होल्ड’, यात्रु मर्कामा, बजार सुनसान

२० जेठ, रामेछाप । देश व्यापी सार्वजनिक सवारी बन्दको आह्वान पछि रामेछापमा आज दोस्रो दिन पनि सार्वजनिक यातायात ठप्प भएका छन् । यातायात नचल्दा प्रशासनिक तथा मन्थली बजारमा देखिने भिडभाड समेत ठप्प भएको छ ।
१९ गते सोमबारदेखि नै देश व्यापी सवारी बन्दको आह्वान पछि सबै सार्वजनिक यातायात ठप्प पारेका यातायात व्यवसायीहरूले दोस्रो दिन पनि आफ्ना माग पुरा नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिँदा स–साना अटो र रिजर्भका केही गाडी बाहेक सुनसान बनेको हो ।
रामेछाप र ओखलढुङ्गाका गाउँ बस्तीमा पुग्दै आएको अरनिको यातायातका मात्रै ५० वटा भन्दा बढी गाडी गाउँ–गाउँमा होल्ड गरिएको अरनिको यातायात मन्थलीका सुवाश फुयाँलले बताए । ‘हाम्रा गाडी तयारी अवस्थामा छन्, खुल्यो भन्ने बित्तिकै चल्छन् तर अहिले सम्म कहिले चल्ने भन्ने केही जानकारी आएको छैन’ फुयाँलले भने मन्थली बसपार्कसहित गाउँ–गाउँमा गाडी रोकिएका छन् ।
त्यस्तै, दोलखा र रामेछापका विभिन्न क्षेत्रबाट यात्रु बोक्दै आएको हिमाल–तराइका साना तथा ठुला गाडी पनि ठप्प पारिएको समितिका सुदीप थापाले बताए ।
सार्वजनिक यातायात नचल्दा जिल्ला सदरमुकाम मन्थली बजारसहित आसपासका बजार सुनसान देखिएका छन् । सधैँ जसो भीडभाड् देखिने जिल्ला प्रशासन लगाएका सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीको संख्या न्यून देखिन्छ । खुलेका सरकारी कार्यालयहरूमा सेवाग्राही नपुग्दा कर्मचारी समेत फुर्सदिला देखिन्छ ।
बजारमा ग्राहक नहुँदा व्यापार व्यवसाय चौपट बनेको छ । मन्थली बजारमा अटोहरूले केही यात्रु ओसार पसार गरी रहे पनि लामो दुरीका यात्रु नहुँदा यात्रु र सवारी दुवै मर्कामा देखिन्छन् । केही निजी बोलेरोहरुले यात्रु ओसारे पनि यात्रुले खोजेको बेलामा गाडी नपाउँदा हैरान खेपिरहेका छन् ।
समितिहरूको अनिश्चित कालीन हडतालले यात्रुहरू चरम मार्मा परेका हुन् ।