एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा रामेछापका डा.कडरियासहित यी युवा नेता भए निर्वाचित

| जेठ ३१, २०८२ शुक्रबार

A A A
A A A

३० जेठ, रामेछाप । नेकपा (एमाले) को भातृ विद्यार्थी संगठन (अनेरास्ववियु) को केन्द्रीय अध्यक्षमा रामेछापका डा.सुजन कडरिया निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेललाई ७ मतको मतान्तरले जित हासिल गरेको अनेरास्ववियु रामेछापका अध्यक्ष एवं केन्द्रीय सदस्य पुष्कर भट्टराईले रामेछाप टाइम्सलाई बताए । यो पटकको अनेरास्ववियुको केन्द्रीय कमिटीमा रामेछापका धेरैले स्थान पाएका छन् । 

 

लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती निवासी डाक्टर कडरिया खिम्ती जनजागृति माविमा पढेका चर्चित विद्यार्थी नेता हुन् । बिहीबार बिहान १० बजेदेखि राति १० बजे सम्म भएको मतदानबाट खसेको १४ सय ५७ मत मध्ये कडरियाले ७ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी म्याग्दीका पौडेलले ७ सय २५ मत पाएको निर्वाचन समितिले जनाएको हो । 

यो पटकको अनेरास्ववियु केन्द्रीय कमिटी निर्वाचनमा रामेछापका धेरै जनाले जित हासिल गरेका छन् । उपाध्यक्षमा समेत रामेछाप भटौली घर भएर मन्थली बस्दै आएका विकाश श्रेष्ठले जित हात पारेका छन् । 

त्यस्तै शेर्पा समुदायमा युवा नेताको रूपमा उदाउँदै गरेका गोकुलगंगा गाउँपालिका वडा १ चुचुरे घर भएका छिरिङ शेर्पा पनि सचिवालय सदस्यमा निर्वाचित भएका छन् ।

 

केन्द्रीय सदस्यमा रामेछापका अध्यक्ष समेत रहेका मन्थली–३ का पुष्कर भट्टराई सहित खाँडादेवी गाउँपालिका–२ मझुवाका अनिल बोहोरा र लिखु तामाकोशी गाउँपाला–५ नागदहकी रियाव मगर निर्वाचित भएका छन् ।

 

९ पदाधिकारीसहित एक सय ५१ जनाको केन्द्रीय कमिटीका १८ जना सर्व सहमतिसहित बाहेक अन्य सबै पद भएको मतदानबाट उनीहरू निर्वाचित भएका हुन् । 

 

विद्यार्थी संगठनका विभिन्न आयोगमा समेत मन्थली–८ चिसापानीका सुजन ढुङ्गेल र गोकुलगंगा गाउँपालिका–३, रस्नालुकी उर्मिला कार्की सदस्यमा निर्वाचित भएको जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य भट्टराईले रामेछाप टाइम्सलाई बताए ।