खाँडादेवी–२ मा आगोलाग्दा एक गोठसहित ७ वटा बाख्रा जलेर मरे, भैँसी र राँगो घाइते

३० जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवाको कुरनथलीमा एक गोठमा आगो लाग्दा गोठसहित ७ वटा बाख्रा जलेर मरेका छन् । धेरै ठाउँमा बर्खाको झरी सुरु भइरहँदा रामेछापका केही बस्तीहरूमा भने आगो लागिका घटना घटिरहेको अवस्था छ ।
मन्थलीमा हालसम्म यो वर्षा (मौसम) भित्रिए यता हाल सम्म पानी पर्न सकेको छैन । अत्यधिक गर्मी बढ्दा यहाँको जनजीवन प्रभावित हुँदै आएको छ ।
स्थानीय ५३ वर्षीय कान्छा राम योञ्जनले पालेका ७ वटा बाख्रा राखिएको गोठमा बिहिबार विहान एक्कासी सल्किएको आगोबाट बाख्रा र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। गोठमा एउटै माउ भैँसी र एउटा राँगो पनि जलेर घाइते भएका थिए ।
जिल्ला प्रहरी मातहतको प्रहरी चौकी बेथान सित्खाका प्रहरी हवलदार कामेश्वर यादवको टोलीका अनुसार आगोलागिबाट एक लाख ४ हजार बराबरको क्षति भएको छ ।