असारे भेलमा खिम्तीमा पौडी खेल्न गएका हिमाल हाइड्रोका गार्डको डुबेर ज्यान गयो

१९ असार, रामेछाप । असारको भेलमा पौडी खेल्न गएका एक जनालाई खोलाले डुबाउँदा गोकुलगंगा गाउँपालिका–३, रस्नालुमा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल प्रसाद बुढाथोकी रहेका छन् ।
बुधवार बिहान १० बजेको समयमा खाना खाएर साथीहरूसँग पौडी खेल्न खिम्ती खोलामा गएका उनको खोलाले डुबाउँदा ज्यान गएको हिमाल पावर लिमिटेडका कर्मचारी चेतवान बिकेले रामेछाप टाइम्सलाई जानकारी दिए ।‘साथीहरूसँगै गएको सबै जना निस्किएछन् । ऊ धेरै बेर ननिस्किएपछि डुबाएको थाहापाएपछि हल्लीखल्ली भयो । हामीलाई पनि खबर आयो ।’
हिमाल पावर हाइड्रोमा सेकुरेटि गार्ड पदमा कार्यरत बुढाथोकी अर्को एक कम्पनीबाट त्यहाँ काम गर्न आएको बुझिएको छ । नामाडी र बेतालीको समय भएर बग्ने खहरे खोला मिसिएको ठाउँमा जमेको दहमा पौडी खेल्दा बालुवामा गाडीदा उनको ज्यान गएको हुन सक्ने दाबी गरिएको छ ।
बिहीबार दिउँसो करिब १२ बजेको समय मृत भेटिएका बुढाथोकीको शव पोस्ट मार्टमको लागि प्रहरीसहितको नियन्त्रणमा मन्थली ल्याइएको बताइएको छ । मृतकको परिवारले आफूहरू नआइपुगी शवलाई नचलाउनु भनेको कारण शव मन्थली राखिएको किर्ने पावर स्टेशनबाट हिमाल पावर हाइड्रोका कर्मचारी बिकेको भनाई छ।