रामेछापको पुछिघाटमा ट्याक्टर दुर्घटना: चालकको घटनास्थलमै ज्यान गयो, अर्का एक घाइते

२६ साउन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ पकरबासको पुछिघाटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने, अर्का एक जना सामान्य घाइते भएका छन् । घाइते अहिले सामान्य उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शनिवार दिउँसो करिब ३ बजेको समयमा वडा नं ४ पकरबासको पुछिघाटमा जेसिबिको बकेट पुर्याएर फर्किने क्रममा स्टेरिङ फेल भएर ज ६ त ९५९१ नम्बरको ट्याक्टर पल्टिएको त्यहाँका स्थानीय एवं सेती देवी आधारभूत विद्यालयका (प्रअ) इन्द्र दाश श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘सडक सजिलै थियो । तर, गाडीको चाल सिधा नभएर अन्कन्ट्रोल तरिकाले चलेको थियो ।’
दुर्घटनामा सोही ट्याक्टरका सहचालक एवं स्थानीय ३६ वर्षीय दिनेश माझीको घटनास्थलमै मृत्यु भएको छ । उनको आइतबार बिहान मन्थली अस्पतालमा पोस्टमार्टम भइरहेको प्रअ श्रेष्ठले जानकारी दिए ।
ट्याक्टरमा चढेका अर्का स्थानीय एवं घाइते एक युवा मन्थलीको दिल श्री मेडिकल हलमा उपचार पछि आफन्तकोमा रहेको बताइएको छ ।